‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह’ प्रधानमन्त्री देउवा
एक्सन खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए ।
‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’
संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूती गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । ‘अस्तव्यस्थ सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ । वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुन बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।
प्रधानमन्त्री देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउन सबै पार्टीसँग छलफल गर्ने पनि बताएका छन् । कार्यक्रममा बागमति प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहलाई ‘स्थानीय सरकार’ भन्नुपर्ने माग गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘नामसँग नै रहर हो भने स्थानीय सरकार भनिदिउँला । यसको लागि सबै पार्टीसँग सहमति लिउँला । महत्वपूर्ण कुरा भनेको नाम भन्दा पनि काम हो । काममा ध्यान दिउँ,’ प्रधानमन्त्री देउवाले भने । उनले कार्यक्रममा उपस्थित नगरपालिकाका प्रतिनिधिहरुलाई जनताको काम छिटो छरितो गर्न आग्रह गरेका थिए । उनले जनताको सुख, दुःखमा सहभागी हुनपनि स्थानीय तहलाई आग्रह गरेका थिए ।
संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरेको छ । संघका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भए ।
शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका तथा वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट बनेको छ । यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् । फाेटाे फायलः
0 प्रतिकृया