इतिहास शिरोमणि चाकडी नगरेकै कारण ३१ बर्षसम्म खरदारबाट बढुवा भएनन्
एक्सन खबर
काठमाडौं । इतिहास शिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती आज नेपाल प्रज्ञा प्रतिष्ठानमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा आयाेजित कार्यक्रममा प्रा. डा. गोविन्द टन्डनले इतिहास शिराेमणीका बारेमा २९ पेजको कार्यपत्र प्रस्तुत गर्दै नेपालकाे इतिहास र साहित्यमा उनले पुर्याएकाे याेगदानकाे चर्चा गरे ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेश आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको पहलमा घोषणा भएको दुई लाख राशीकाे बाबुराम आचार्य सगरमाथा पुरस्कारको विषयमा मन्त्रालयका सचिव न्यौपानेले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने इच्छा रहेको बताए ।
खानेपानी मन्त्रालयका सचिव आचार्यले बाबुराम आचार्यको १० लाखको राशी आफु संस्कृति मन्त्रालयकाे सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै स्वर्गीय आचार्यको जन्म जयन्ती फागुन २९ गतेलाई इतिहास दिवस मनाउन सरकारलाई आग्रह गरे ।
बिशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले प्रतिष्ठानले इतिहास शिरोमणिका योगदानलाई स्मरण गराउन प्रज्ञा प्रतिष्ठान, संस्कृति तथा पर्यटन मन्त्रालय लगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर संग्रहालय निर्माण, अप्रकाशित कृति प्रकाशनलगायतमा काम गर्ने बताए ।
प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले इतिहास शिराेमणी बाबुराम आचार्य सगरमाथा पुरस्कार घोषणा गर्न सहयोग गर्ने मन्त्रालय, प्रज्ञा प्रतिष्ठानलगायतलाई धन्यवाद दिँदै कोभिडका कारण प्रतिष्ठानले गर्न सक्ने कामपनि गर्न नसकेको भन्दै आगामी दिनमा देखिने खालका कामहरू गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
इतिहास शिराेमणी आचार्यले कयौं पुस्तक लेखेको चर्चा गर्दै महासचिव आचार्यले चाकडी नगरेका कारण ३१ बर्षसम्म खरदारमा नै रहनुपरेको बताए । अहिले पद र पैसाका लागि ज्यान मार्न तयार रहने पुस्ताका लागि इतिहास शिराेमणी मार्गनिर्देशक बन्ने जिकीर गरे ।
नेपाल एकेडेमीका सदस्यसचिव जगत प्रसाद उपाध्यायले इतिहास शिराेमणीकाे योगदानको कदर स्वरूप पुरस्कार घोषणा हुँदै गरेकोमा खुसी व्यक्त गर्दै रकमको भन्दापनि पुरस्कारको महत्व बढी हुने बताए ।
प्रतिष्ठानका सामाजिक बिभाग प्रमुख एबम् कार्यक्रमका सभापति प्रा. दिनेशराज पन्तले बाबुराम आचार्यको योगदानको बिषयमा चर्चा गरेर नसकिने भन्दै ३१ बर्षसम्म खरदारमै बसेर राणा शासकका अगाडी चाकरी नगर्ने व्यक्तिका रुपमा आचार्य रहेको बताए ।
कार्यक्रममा प्रा. डा. सुरेन्द्र के.सी., प्रा. डा. निरन्जनमान सिंह बस्नेत, पुर्वरथी प्रेम सिँह बस्न्यात, नेपाल आयल निगमका पुर्व महाप्रबन्धक जयराज आचार्य, प्रा. डा. मिना आचार्य, पुर्वमन्त्री मोदनाथ प्रश्रित लगायतको उपस्थिति थियो ।
0 प्रतिकृया