‘बादल लागेकाे बेला देउवाको आँगनमा माछा पर्याे’
एक्सन खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको आँगनमा माछा परेको टिप्पणी गरेका छन् । आइतबार एमाले उद्योग विभागले आयोजना गरेको उद्योगी व्यवसायीहरुसँगको छलफलमा एमाले अध्यक्ष ओलीले देउवाको आगनमा पानी नपरेको बेलामा माछा परेको टिप्पणी गरेका हुन् ।
प्रतिनिधि सभामा कम सिट भएपनि गठबन्धनका कारण देउवाले प्रधानमन्त्री पद पाएको तर्फ लक्षित गर्दै ओलीले समुन्द्र र पोखरी छेउवा नभए पनि देउवाको आगनमा माछो परेको टिप्पणी गरेका हुन् । 'देउवाजीको आँगनमा माछो परो बादल लागेको बेलामा । न समुद्र न पोखरी, न खोला, माछा पर्छ कहिले काँही तपाईंहरुले देख्नु भएको छ कि छैन मैले देखेको छु' उनले भने, 'त्यही भएर उहाँलाई केही चिन्ता छैन । माछो ल्याएर घैलामा राख्नु भएको छ ।'
अदालतको परमादेशका कारण आफू सत्ताबाट हट्नु परेको बताउँदै आएका ओलीले भने, 'परमादेशबाट पारिदिएको माछाको चिन्ता छ त्यसकारण उहाँलाई देशको चिन्ता छैन ।' त्यही भएर देउवाले देशको अर्थतन्त्रमा ध्यान नदिएको उनको आरोप थियो ।
अर्थतन्त्र बेहाल अवस्थामा
ओलीले वर्तमान सरकारले अर्थतन्त्रलाई बेहाल अवस्थामा पुर्याएको आरोप पनि लगाए । उद्योगी व्यवसायीहरुसँगको छलफलमा सरकारले उत्पादनमा जोड दिनुको सट्टा थर्काएर हैरानी पार्ने काम गरेको आरोप लगाए ।
'व्याकमेलको जस्तो थर्काएर ताला लगाएर छापा लगाएर कसरी हैरानी पार्न सकिन्छ, कसरी थर्काउन सकिन्छ भन्ने खालका प्रकृतिका कामहरु भइरहेका छन्' उनले भने, 'पहिला बाहिर बसेर गर्थे अहिले राज्यमा बसेर त्यही कुरा आज फरक ढंगमा गर्न खोजिरहेका छन् यो अर्थतन्त्रका लागी गम्भीर र नकारात्मक हो।'
अर्थतन्त्रका ४ वटा क्षेत्र प्रभावित भएको उनले बताए । आफ्नो सरकारले उत्पादन र उत्पादकत्व वृद्धिको लक्ष्य लिएको दाबी गर्दै उनले आयात प्रतिस्थापन गर्न सकिन्छ भन्ने रहेको भएपनि अहिलेको सरकारले वेवास्ता गरेको उनले आरोप लगाए ।
उनले आफूले सडेगलेका चिज किन खानु परो भनेर बन्द गरेको भएपनि कमिशनको खेलले खुलेको टिप्पणी गरेका छन् । 'त्यसलाई बन्द पनि गरेको थिएँ, कतिपयलाई घाटा पनि लाग्यो होला' उनले भने, 'एक जनाको व्यापार सपार्नलाई राष्ट्रिय अर्थतन्त्रलाई प्रभाव नपारौं ।'
0 प्रतिकृया