‘अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन’
एक्सन खबर
धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतकाे गीत 'पीर'काे म्युजिक भिडियाेमा भइरहेकाे विवादबारे प्रतिक्रिया दिएका छन् ।
माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, 'मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।'
शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्नेपनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क, पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।
यस्तै उनले अर्ली इलेक्सनकाे सम्भावना नरहेकाे बताएका छन् । एमालेकाे अवराेधका कारण ६ महिनादेखि संसद सहजरुपमा चल्न नसकेका बेला सत्तारुढ गठबन्धनभित्र स्थानीय तहकाे चुनावअघि अर्ली इलेक्सनबारे छलफल भइरहेका विवरण सार्वजनिक भइरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।
‘एमालेले दुई पटक संसद विघटन गर्याे । अहिले संसद चल्न दिएकाे छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ । त्याे सत्य हाेइन ।' प्रचण्डले भने ।
३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए ।
सुदूरपश्चिम सरकारमा कांग्रेसकाे इन्ट्रि
सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसकाे इन्ट्रि हुने भएकाे छ । तत्कालीन नेकपा विभाजनपछि सुदूरपश्चिम सरकारमा मन्त्री हेरफेर भए पनि माओवादी केन्द्रले नेतृत्व गरिरहेकाे छ । तर, बहुमत मन्त्री एकीकृत समाजवादीका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई सुदूरपश्चिम सरकारमा भित्र्याउनेबारे छलफल भइरहेकाे बताए । 'चुनाव आएकाे छ, कांग्रेसले पनि सरकारमा जान चाहेकाे छ,' प्रचण्डले भने, 'एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बाेलाएर कांग्रेस भित्र्याउने सहमति भएकाे छ ।' यसबारे समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल भएकाे उनले बताए ।
हाल सुदूरपश्चिम सरकारलाई कांग्रेसकाे समर्थन रहेपनि सरकारमा छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा सात समाजवादी र चार माओवादीका मन्त्री छन् ।
0 प्रतिकृया