Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


‘निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?’

एक्सन खबर
चैत, ६, २०७८


‘निर्वाचन आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ?’

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए । नेकपा एमाले इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, 'पुरै मतपत्र हरियो बनाउने रे ! निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो । अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।'

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयकाे उनले विरोध जनाए । उनले भने, 'मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ ? जहाँपनि मनोनयन एकै दिन हुन्छ । विश्वभरी मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन ।'

यस्तै ओलीले पछिल्लो समय पार्टी प्रवेशको लहर जागेको पनि बताएका छन् । आफु जहाँ गयो त्यहींका  जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए ।

'म जहाँ गयो त्यहीँका  मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् । उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ,' अध्यक्ष ओलीले भने  ।

विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । 'तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,' ओलीले भने । अहिले एमाले जुन मजबुद हालतमा छ त्यो नेताहरूले नभएर कार्यकर्ताका कारण भएको बताए ।

आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने ओलीले दावी पनि गरे । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ छ । 













0 प्रतिकृया