Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


भाेलीदेखि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी गठबन्धनबारे निर्णय गर्ला ?

एक्सन खबर
चैत, १०, २०७८


भाेलीदेखि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी गठबन्धनबारे निर्णय गर्ला ?

ईश्वरी बराल
काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्यहरूले स्थानीय तहको निर्वाचनको लागि तत्काल उम्मेद्वार तय गर्दा चुनावी प्रचारप्रसार गर्न थप सजिलो हुने बताएका छन् । स्थानीय तहको लागि प्रतिनिधि छनोट गरेर ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ चुनावी अभियानमा सहभागी हुँदा प्रभावकारी हुने उनीहरूको बुझाइ छ ।

गोरखामा चुनावी प्रचारमा खटिएकी कांग्रेस केन्द्रीय सदस्य नानु बाँस्तोलाले उम्मेद्वारको दौडमा धेरै हुने भएकाले अहिले नै एउटालाई टिकट दिएर अन्यले साथ दिँदै प्रचारमा होमिँदा राम्रो हुने बताइन् । ‘स्थानीय स्तरमा लोकप्रिय व्यक्तिलाई उम्मेद्वार बनाउनुपर्छ । उम्मेद्वारको दौडमा धेरै भए पनि टिकट पाउने एउटाले हो । पहिले नै तय गरेर जाँदा राम्रो हुन्छ । प्रचार गर्न सजिलो हुन्छ,’ उनले भनिन् ।   

गोरखामा चुनावी प्रचारमा खटिरहँदा पनि उम्मेद्वार तय गर्न सुझाव दिएको उनले बताइन् । उनको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ९ मा पनि उम्मेद्वार चयनबारे अनौपचारिक छलफल सुरु भएको जानकारी दिइन् ।यस्तै चुनावी गठबन्धनको विषयमा पार्टीले औपचारिक धारणा तय गरिनसकेकोले अहिले नै चुनावी तालमेल कसरी हुन्छ भन्न नसकिने बताइन् ।

यस विषयमा भोलि शुक्रबारदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल भएर निर्णय हुन सक्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

अर्का केन्द्रीय सदस्य नृपबहादुर वडले पनि उम्मेद्वार टुंगो लगाएर निर्वाचन लक्षित अभियानमा जाँदा थप उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे । भोलिदेखि सुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा पनि यहि एजेन्डा राख्ने उनले तयारी गरेका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी र ‘घर घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा गर्ने एजेन्डा तय भएको छ । यस्तै संसदीय समिति गठनबारे पनि छलफल गर्ने कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति र प्रचारप्रसार मूल समिति गठन गर्ने तयारी रहको पार्टी केन्द्रीय कार्यालयका सचिव एवम् सूचना अधिकारी केशव रिजालले जानकारी गराए ।

संघ, प्रदेश र स्थानीय तह गरी तिनै तहका संसदीय समितिले विधान अनुसार तोकिएको तहको उम्मेद्वारको निर्णय गर्न पाउने विधानमा व्यवस्था छ । सोहि व्यवस्थाअनुसार स्थानीय तहको चुनाव लक्षित काम गर्न जिल्लाहरूलाई सर्कुलर जारी गरेको रिजालले जानकारी दिए ।

भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा एजेन्डागत र विभिन्न समसामयिक विषयमा सदस्यहरूले धारणा राख्ने नेता मिन विश्वकर्माले बताए । उनले भने, ‘भोलि शुक्रबारदेखि बैठक सुरु हुन्छ । पर्सी शनिबार बैठक बस्छ या बस्दैन, भोलि नै थाहा होला । दुई तीन दिन केन्द्रीय सदस्यहरूले धारणा राखेपछि शीर्ष तहमा छलफल गरेर स्थानीय तहको चुनावबारे निर्णय हुन सक्ला, तर चुनावी गठबन्धनको विषयमा यति छिट्टै भने निर्णय नहुन सक्छ ।’

बैठकमा चुनावी गठबन्धनको विषयमा कुरा उठे पनि निर्णय नै भने नहुने पार्टी कार्यालयका सचिव तथा सूचना अधिकारी रिजाल पनि बताउँछन् । चुनाव आउन धेरै समय नै बाँकी रहेको अवस्थामा चुनावी तालमेलको घोषणा गर्दा नाफा वा घाटा जे पनि हुन सक्न भएकाले पनि यति छिट्टै घोषणा नहुने उनको तर्क छ ।

चुनावी गठबन्धनलाई लिएर कांग्रेसभित्र फरक फरक मत छ । खासगरी डा. शेखर काेइराला समुहले कांग्रेसले एक्लै चुनाबमा जानुपर्ने निष्कर्ष निकालेकाे छ । पार्टीको आधिकारीक धारणा भने भोलिदेखि बस्ने केन्द्रीय समिति बैठकले गर्ने भनिएको छ ।

चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा गगन थापा

कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ मा बसेको बैठकको निर्णय अनुसार महामन्त्री गगन थापालाई स्थानीय तह निर्वाचन-२०७९ का लागि घोषणापत्र तयारी समितिको संयोजक तोकेका छन् ।













0 प्रतिकृया