गठबन्धनको बिरोध गर्नेलाई चुनाव जितेर देखाउन देउवाको चुनौती
एक्सन खबर
काठमाडौं । शुक्रबार सुरु सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सातमध्ये पाँच प्रदेशका सभापतिहरुले चुनावी गठबन्धनको विपक्षमा धारणा राखेका छन् । भने, सभापति देउवाले गठबन्धनकाे विराेध गर्नेलाई चुनाव जितेर देखाउन चुनाैति दिएका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार अपराह्न सुरु बैठकमा धारणा राख्दै कांग्रेसका पाँच प्रदेश सभापति गठबन्धनको विपक्षमा देखिए । बैठकमा धारणा राख्नेक्रममा मधेश प्रदेशका सभापति कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनको विपक्षमा देखिएका हुन् ।
सुदूरपश्चिमका वीरबहादुर बलायर बैठकमा उपस्थित नभएपनि उनी गठबन्धनकाे पक्षमा छैनन् । लुम्बिनी र गण्डकीका प्रदेश सभापतिले गठबन्धन गर्न नहुने धारणा राखेका थिए । प्रदेश १ का उद्धव थापा र वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँमात्र गठबन्धनको पक्षमा उभिएमा छन् ।
अधिकांश प्रदेश सभापतिहरू गठबन्धनकाे विपक्षमा उभिएपछि पार्टी सभापति देउवाले उनीहरूलाई गठबन्धन विना चुनाव जितेर देखाउन चुनाैति दिए । पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको बिरोधमा आवाज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले गठबन्धन नगरी चुनाव जित्न चुनौतीपूर्ण रहेको भन्दै जितेर देखाउन चुनौती दिएका हुन् । नेताहरुको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाका बारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको बिरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनु पर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भने।
गठबन्धनको विपक्षमा धारणा राखेका चितवनका नेताहरूलाई देउवाले स्थानीय स्तरमा भएका चुनावमा नजित्नेले हामी बलियो छौं भन्नुको अर्थ नभएको भन्दै आक्रोश पोखेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
0 प्रतिकृया