प्रधानमन्त्रीकाे भारत भ्रमणः भाजपाको मुख्यालयमा देउवालाई स्वागत
एक्सन खबर
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग भेटपछि भाजपाको मुख्यालय पुगेका छन् ।
पार्टी कार्यालयमा देउवालाई भाजपाका अध्यक्ष जगत प्रकाश नड्डाले स्वागत गरेका थिए । ५० सदस्य टोलीका साथ देउवाले भोली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारत भ्रमणमा प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच विच आजै भेटवार्ता भएको छ ।
देउवासँग जयशंकरले नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेट गरेका थिए । नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । यसअघि नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवासँग स्थानीय समय अनुसार ४:३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आइटीसीमा शिष्टाचार भेट गरे ।
शनिबार स्थानीय समय अनुसार विहान १०:४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११:१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिनेछ ।
शनिबार नै दिउँसो ४:३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणसी पुग्ने कार्यक्रम रहेको छ । वाराणसीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४:१५ बजे स्वदेश फर्कनेछन् ।
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा गएका हुन् । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए ।
0 प्रतिकृया