Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


शेरबहादुर, केपी र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ ?

एक्सन खबर
चैत, १९, २०७८


शेरबहादुर, केपी र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ ?

मोरङ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्राभिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन् । यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छभन्दा पश्चातापबाहेक केही हात नपर्ने उनले बताए । कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाए । तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ।

अध्यक्ष लिङ्देनले  देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन्। उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्याउनु देशलाई थप बर्बादीको दिशातर्फ धकेल्ने काम हुने बताए।

उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले सभालाई सम्बोधन गर्दै लिङ्देनले  भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि दूध दिँदैन । ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु हो त्यस्तै हो ।’

उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ ? भनेर प्रश्न समेत गरेका थिए । ‘अब तिनै पार्टी, तिनै नेताबाट देश बन्छ भनेर तिनैलाई हाम्रो बाजेको पार्टी बाउको पार्टी मैले यति लेबी तिरेको भनेर भोट दिइराख्नु भनेको र यिनै पार्टीबाट देश बन्छ भनेर अपेक्षा राख्नु भनेको साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै हो,’ उनले भने, ‘जबसम्म तिनै पार्टीलाई भोट हाल्नुहुन्छ तबसम्म देशले परिवर्तन र विकास प्राप्त गर्दैन ।’

उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ । उनले भने, ‘कुनै बेला हामीले युक्रेनको नियति व्यहोर्नुपर्ने अवस्था आउने खतरा हाम्रो सामु देखिएको छ । उनीहरूको आलोकाँचो व्यवहारले हुने क्षति ठूला पार्टीले मात्र व्यहोर्नु पर्दैन । सिंगो देश र जनताले क्षति व्यहोर्नु पर्नेछ ।

नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।

‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, उनले भने ।















0 प्रतिकृया