२४ घन्टामा ४० हजारले देश छाडे, गैरसैनिक हत्याको निन्दा
एक्सन खबर
किभ । युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् । राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् ।
देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।
युद्ध भएपछि १५८ बालबालिकाको मृत्यु भएको २५८ जना घाइते भएको युक्रेनले जनाएको छ । युक्रेनको महान्यायधिवक्ताको कार्यलयका अनुसार युद्धका कारण सबैभन्दा बढी बालबालिका राजधानी किभ र त्यसपछि दोनेत्सकमा प्रभावित भएका छन् ।
गैरसैनिक हत्याको विश्वव्यापी निन्दा
युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।
युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।
त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सडकमा शवहरूको दृश्यलाई पाशविक भनेका छन् । यसैबीच रुसी सेनाले रणनीतिक दक्षिणको बन्दरगाह सहर ओडेसामा गोलाबारी तीव्र पारेको छ ।
0 प्रतिकृया