यी हुन् वीपी प्रतिष्ठानका उपकुलपतिको २ वर्षको उपलब्धी (प्रतिवेदन सहित)
एक्सन खबर
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २ वर्ष यता शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवामा सकारात्मक परिवर्तनहरु भएको बताएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २०७६ चैत्र देखि २०७८ चैत्र सम्मको संक्षिप्त कार्य प्रगति विवरण सार्वजनिक गर्दै अस्पताल सेवातर्फ राम्रो प्रगति भएको जनाएका छन् ।
कोभिड–१९ को महामारी न्यूनिकरण, संक्रमितको उपचारमा प्रतिष्ठानले उत्कृष्ट कार्य गरेको जनाउँदै डा. गिरीले कोभिड व्यवस्थापन गर्न प्रतिष्ठानले २० वेड कम्प्लिट आइसियू भेन्टिलेटर सहितको एक सय वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको, १५ वेडको कम्प्लिट पिआइसियू÷एनआइसियू सञ्चालनमा ल्याएको, पहिलो चरण २५ र दोश्रो चरण ५० गरी ७६ वेडको एचडियू सेटअप गरी सञ्चालनमा ल्याइएको, २० हजार लिटरको लिक्यूड अक्सिजन ट्यांक खरिद गरी जडान भइसकेको जनाएका छन् ।
यस्तै गरी, कोभिड असपताल सञ्चालनका लागि जी टू जी बाट इसिजी मेसिन, डायलाइसिसका लागि सिआरआरटी मेसिन, पोर्टेवल युएसजी मेसिन, पोर्टेवल डिजिटल एक्सरे, मनिटर, इलेक्ट्रिक आइसियू बेड लगायत कोभिड ब्यवस्थापनसँग सम्बन्धीत स्वास्थ्य सामग्रीहरु प्रतिष्ठानले प्राप्त गरेको जनाएको छ ।
डा. गिरीका अनुसार प्रतिष्ठानलाई विभिन्न दातृ निकायहरुबाट समेत विभिन्न स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । पिसिआर मेसिन, अक्सिजन कन्सन्ट्रेटर, भारत सरकारबाट कोभिड अस्पतालका लागि एक थान अक्सिजन प्लान्ट प्राप्त भएको छ । भने, अन्य विभिन्न दातृ निकाय तथा कोभिडसँग सम्बन्धीत स्वास्थ्य सामग्री तथा उपकरणहरु प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी स्वास्थ्य सेवा विभागले कोभिड उपचारका लागि पोर्टेवल भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, आइसियू भेन्टिलेटर लगायत स्वास्थ्य उपकरणहरु प्राप्त भएको जनाइएको छ । साथै, स्वास्थ्य मन्त्रालयबाट समेत विभिन्न स्वास्थ्य सामग्री प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
उपकुलपति डा. गिरीका अनुसार प्रतिष्ठानको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तथा इमरजेन्सी सेवा विस्तार गर्ने कार्य भइसकेको छ । हाल इमरजेन्सी सेवातर्फ भवन निर्माण भइ अक्सिजन पाइपलाइन सहितको थप ३० वटा जेनरल वेड तथा ४ वटा आइसियू÷एचडियू वेड राख्ने योजनासहित भवन निर्माण भएको बताइएको छ ।
प्रतिष्ठानले ल्याव सेवा तर्फपनि उल्लेख्य सुधार भएको बताएको छ । फास्ट रिपोटिङ र क्यू म्यानेजमेन्टका लागि विभिन्न विभागमा रहेका मेसिनहरुलाई प्रयोगशाला सूचना प्रणालीमा जडान गरिएको, ल्याब रिपोर्टहरु अनलाइन मार्फत हेर्ने व्यवस्था गरिएको, पुराना उपकरणहरु मर्मत गरिएको पनि बताइएको छ ।
यसैगरी, प्रतिष्ठानको रेडियोलोजी सेवातर्फ पनि उल्लेख्य सुधारका कामहरु भएको जिकीर गरिएको छ । उपकुलपति डा. गिरीका अनुसार उपत्यका बाहिर नै पहिलो पटक २५६ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा समेत आइसकेको छ । भने, ३ टेस्लाको एमआरआई मेसिन खरिदका लागि पुनः टेण्डर गर्ने प्रक्रिया अगाडी बढेको, अल्ट्रासाउण्ड, एक्स–रे लगायतका उपकरणहरु मर्मत सुधार गरि सञ्चालनमा ल्याइएको, ३ वटा अत्याधुनिक अल्ट्रासाउण्ड मेसिन खरिद गरेको पनि बताइएको छ ।
यसैगरी स्वास्थ्य सेवा तर्फ नै अप्रेसन थिएटरमा पनि सुधार गरिएको बताइएको छ । मोडुलर एनेस्थेसिया वर्क स्टेशन खरिद गरी सञ्चालनमा आएको, इमरजेन्सीको अप्रेसन थिएटर स्तरोन्नतिको लागि २ वटा ओटी लाइट तथा ओटी टेवल खरिद प्रक्रियामा रहेको पनि बताइएको छ ।
मृगौलाका विरामीहरुको उपचारार्थ प्रतिष्ठानले निर्माणाधिन भवनको कार्य सम्पन्न भइ २० वेड डायलाइसिसको व्यवस्थापन भइ सञ्चालनको अन्तिम चरणका रहेको दावी गरेको छ । १५ वटा नयाँ डायलाइसिस मेसिनको लागि १६०० लिटरको आरओ मेसिन जडान भएको, नयाँ २५ वटा वयस्क र १५ वटा बच्चाका लागि आइ सि यू वेड थप गर्न बजेट विनियोजन भए अनुसार प्रक्रिया अगाडी बढाउने कार्य पनि भइरहेको बताइएको छ ।
प्रतिष्ठानको अस्पताल सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन मोवाइल एपमार्फत विरामीको ओ.पि.डी. दर्ता गर्न सक्ने बनाइएको छ । स्वास्थ्य बिमा सेवालाई एपिआई सिस्टम मार्फत अटो क्लेम सिस्टमको व्यवस्था गरिएको छ ।
यसका अलावा ४ सय वेडको मातृशिशु भवनको स्ट्रक्चर निर्माण पुरा भई फिनिसिङको कार्य भइरहेको पनि बताइएको छ । २÷२ सय वेडको कार्डियोलोजी र अंकोलोजी भवन निर्माणको थालनी गर्न नेपाल सरकारसँग बजेट सुनिश्चितताका लागि पहल भइरहेको पनि बताइएको छ ।
फार्मेसी सेवा तर्फ लामो समयदेखि बन्द रहेको फार्मेसी सुचारु गरिएको तथा भवन निर्माणको काम ८० प्रतिशत सकिएको बताइएको छ । सुनसरी, मोरङ, धनकुटाका १२ हजार बढी जनतालाई मार्फत समुदायमै टेलिमेसिडिन उपचार सेवा प्रदान गरिएको जिकीर गरिएको छ ।
प्रतिष्ठानले डेण्डल सेवा तर्फ नयाँ डेण्टल चेयर खरिद प्रक्रिया अगाडी बढेको, विग्रिएका डेण्टल चेयरहरु मर्मत गरिएको, नयाँ डेण्डल एक्स–रे खरिद एवं जडान भएको भनिएको छ ।
उपकुलपति डा. गिरीले आफ्नो २ वर्षे कार्यकालमा प्रतिष्ठानमा उल्लेख्य सुधारहरु भएको दावी गर्दै शैक्षिक कार्यक्रमतर्फ पनि नयाँ शैक्षिक कार्यक्रम थप गर्न तथा सञ्चालित कार्यक्रममा सिट संख्या अभिबृद्धि गर्न पहल भइरहेको पनि बताएका छन् । अनलाइन पठनपाठन विधि सुरु गरिएको, प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रुपान्तरणको लागि ऐन मस्यौदा खाका तयार गर्ने कार्यको शुरुवात पनि गरिएको बताइएको छ ।
प्रतिष्ठानको अस्तव्यस्त प्रशासनलाई चुस्त दुरुस्त बनाउन समस्या पहिचान र योजना निर्माणका कामहरु भइरहेको बताइएको छ । प्रतिष्ठानका शिक्षक तथा कर्मचारीहरुले केही समयदेखि बढेको तलब नपाएको अवस्थामा तलब बृद्धि गरि भुक्तानी समेत भइरहेको बताइएको छ । शिक्षक, कर्मचारीहरुको बढुवाको लागि लोकसेवा आयोगसँग समन्वय पश्चात प्रतिष्ठानमा कार्यदल बनाई प्रतिवेदन बनाइसकिएको र अब प्रतिष्ठानका विभागीय प्रमुख र शाखा प्रमुखहरुसँग छलफल गरि विज्ञापन निकाल्ने तयारी भएको पनि बताइएको छ ।
यसैगरी प्रतिष्ठानको नियमावली २०५५ लाई संसोधन र सुधार गर्ने कार्य भइरहेको, प्रतिष्ठानको संगठनिक संरचना, आर्थिक, अस्पताल सेवा तथा शैक्षिक नियमावलीको मस्यौदा लेखनको कार्य पनि भइरहेको बताइएको छ ।
हेर्नुहोस् प्रतिष्ठानको २ वर्षे उपलब्धी
0 प्रतिकृया