Follow us:


Follow us

२६ भदौ २०८३, शुक्रवार
२६ भदौ २०८३, शुक्रवार


मेयरदेखि वडाध्यक्षसम्मका लागि अटेरी उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र

एक्सन खबर
चैत, २६, २०७८


मेयरदेखि वडाध्यक्षसम्मका लागि अटेरी उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र

पोखरा । पोखराबाट सुरु भएको अटेरी अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनमा मेयरदेखि वडाध्यक्षसम्मले आफ्नो दावी पेस गरेका छन् । उनीहरूले शनिबार एक कार्यक्रमका बीच पोखराको घोषणापत्र सार्वजनिक गरे । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ नाराका साथ आउँदो ५ वर्षमा गर्ने काम सहितको अग्रिम घोषणा गरिएको हो ।

पोखरामा मेयर सहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक देशका विभिन्न पालिकाहरूमा पनि उम्मेदवारी दिने तयारीमा छन् । घोषणापत्र सार्वजनिक गरेपछि पोखराको मेयरमा उम्मेदवारी घोषणा गरेका गनेश पौडेलले दलका विचार बाहिरबाट पनि राजनीति गर्न सकिने बताए ।

‘जसरी धार्मिक नभई आध्यात्मिक हुन सक्नु हुन्छ । त्यसरी नै राजनीतिक दर्शन विना राजनीति गर्न सकिन्छ,’ उनले भने, ‘हामीले पनि केही खास गरेको होइन । अटेर गरेको हो ।’ उनले चुनावी प्रचारका लागि जनस्तरमा पुग्दा आफूहरूले गाली खानुपरेको सुनाए ।

‘हाम्रो साथीहरूले अस्वाभाविक र अनावश्यक रूपमा जनताको गाली खाइरहेका छन् । ५ वर्षसम्म बाटोको खाल्डो नदेख्ने, अस्पतालको बिजोग नदेख्ने, बिग्रिएको स्कुल नदेख्ने, अहिले भोट माग्न आउने भनेर गाली गर्नुभएको छ,’ उनले भने, ‘जनताको नजरमा चुनावमा उठ्ने हरेक व्यक्ति खराब भइसके । गल्ती एउटाले गरेको छ, सजाएँ अर्कोले भोग्नुपरेको छ । तर यो पटक जनताले गल्ती गर्ने छुट्याउने छन् ।’

घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन देशका विभिन्न ठाउँबाट अटेरी उम्मेदवारहरू पोखरामा भेला भएका छन् । सिद्धार्थ नगर नगरपालिकाको प्रमुखमा दावी गरेकी ईसा खड्काले सचेत नागरिकको भूमिका आफूहरूले पूरा गरेको बताइन् । नागरिकहरूले कहिल्यै गल्ती नगरे पनि सजाएँ भोग्नु परेको र नैतिक हुँदाहुँदै व्यवस्थाले नै अनैतिक बन्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको उनको आरोप छ ।

सबै दाबेदारहरूले आफूले उम्मेदवारी घोषणा गरेपछि राजनीतिक पार्टीहरूले फिर्ता लिन दवाव दिइरहेका अनुभव सुनाए । ‘मैले उम्मेदवारी घोषणा गरी सकेपछि उम्मेदवारी फिर्ता लिन विभिन्न प्रलोभनहरू आए,’ उनी भन्छिन्, ‘उम्मेद्वारी फिर्ता लेऊ समेत भन्नु भयो । तर म अटेर गर्छु ।’ अभियान्ताहरूले राजनीतिक दलको ढोङी नबन्न  उम्मेद्वारहरूलाई आग्रह गरेका छन् ।













0 प्रतिकृया