Follow us:


Follow us

१८ वैशाख २०८३, शुक्रवार
१८ वैशाख २०८३, शुक्रवार


‘गठबन्धन जति ठूलो भएपनि एमाले जति पुग्दैन’ एमाले अध्यक्ष ओली

एक्सन खबर
चैत, २८, २०७८


‘गठबन्धन जति ठूलो भएपनि एमाले जति पुग्दैन’ एमाले अध्यक्ष ओली

सीपी लोहिया
बझाङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआकर्षण भएको बताए ।

नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका छन् । उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए ।

‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो,’ उनले भने ।

एमालेले नेतृत्व गरेको समयमा मुलुकले उत्कृष्ट विकास गरेको ओलीको दाबी थियो । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनले बताए । उनले अहिलेको गठबन्धनलाई पाँच भाइको खन्चुवा गठबन्धन भएको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि वर्तमान सरकारले कुनै काम नगरेको आरोप लगाए । 'प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगेपनि कुनै काम गरेनन् । सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ,' उनले भने ।

अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको बताएका थिए ।

वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत ओलीले आरोप लगाए । पाँच दलीय गठबन्धन जति ठूलो भएको भनिए पनि एमाले जति नपुग्ने उनको दाबी छ ।
















0 प्रतिकृया