कमल थापा सूर्य चिन्ह लिएर चुनावमा लड्ने, परिवार दल पनि सामेल
एक्सन खबर
काठमाडौं । नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । दुई पार्टीबीच ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने विषयमा पाँच बुँदे सहमति भएको हो ।
सहमतिअनुसार राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लड्न पाउनेछ । यता उम्मेदवार निर्वाचित भएपश्चात राप्रपा नेपालकै हुने सहमति दुई पार्टीले गरेका छन् ।
सहमतिपत्रमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ । त्यस्तै आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने र राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने सहमति समेत भएको छ ।
त्यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने सहमति समेत भएको छ ।
दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।
यसैगरी नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भएकाे छ । परिवार दलले स्थानीय तहकाे चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति भएको हो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्ने र निर्वाचनमा विजयी भएपश्चात नेपाल परिवार दलमै आबद्ध हुनेछन् ।
देशभरका तालमेल सम्भव पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेद्वार उठाउने सहमति भएको छ । नेपाल परिवार दलले आफ्नो उम्मेदवार नभएका सबै ठाउँहरुमा नेकपा एमालेका उम्मेदवारहरुलाई सघाउने र नेपाल परिवार दलका उम्मेदवारहरुलाई नेकपा एमालेले सघाउने सहमति भएको छ ।
नेकपा एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्धमा उपयुक्त निर्णय गर्ने समेत सहमति भएको छ ।
जिल्ला तहमा भएको छलफल र सहमतिका सम्बन्धमा आ-आफ्ना प्रदेश र केन्द्रीय नेतृत्व समक्ष नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्ने समेत सहमति दुई पार्टीले गरेका छन् ।
स्थानीय तह निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएरै चुनाव लड्ने छन् । राप्रपा नेपाल र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोही अनुसार राप्रपा नेपालका उम्मेद्वारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएका हुन् ।
0 प्रतिकृया