‘एमालेले गठबन्धनलाई एक्लै पराजित गर्नेछ’ केपी शर्मा ओली
एक्सन खबर
सुनसरी । पाँच दलीय गठबन्धनसँग नडराई मैदानमा उत्रन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीकाे इनरूवामा आयोजित जनसभामा बाेल्दै ओलीले खिइदै गएको गठबन्धनले कुनै लछारपटार लगाउन नसक्ने भन्दै गठबन्धनसँग नडराउन पार्टीका नेता कार्यकर्ताहरूलाइ निर्देशन दिएका हुन् ।
ओलीले जतिसुकै दल मिलेर भिडेपनि एमालेलाई अबकाे निर्वाचनमा पराजित गर्न नसक्ने दावी गर्दै गठबन्धनलाई मोर्चाबन्दी गरेर मैदानमा उत्रन चुनौती समेत दिए । ‘जो जो आएनी आउन । हामी एक्लै लड्न सक्छौं । एमालेले गठबन्धनलाई एक्लै पराजित गर्नेछ ।’ ओलीले भने ।
ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्बिनमा फाल्नुपर्ने बताउँदै त्याे काम एमालेले गर्ने समेत दावी गरे । बैशाख ३० गतेकाे स्थानीय निर्वाचन पछि गठबन्धन दलकाे सरकार ढल्ने जिकीर गरे ।
यसअघि विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै
उनले आफ्नो नेतृत्वको सरकारको कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरुको मानसिक अवस्था ठिक नभएको बताए । ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने बताए । ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने, ‘त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन, तपाईहरुबाट सुनेको हुँ, त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’
उनले दुई चार जनाको पार्टी एकातिर वृहत एमाले एकातिर भएर चुनावमा लड्ने बताए । उनले राप्रपा वा अन्य दलसँग पनि निर्वाचनमा मिलेर जान सकिने बताए ।
विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधान अनुसार हुनैपर्नेमा जोड दिए । ‘विप्लवलाई चुनावमा सहभागी हुन अपिल गरेका छौं । चुनाव सार्ने, गठबन्धनवालाहरुको षड्यन्त्र असफल भएको थियो फेरि त्यही षड्यन्त्र जगाउने गरी विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका लागेर मैले त्यस्तो अपिल गरेको हुँ,’ उनले भने ।
सुनसरीकाे जनसभामा भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका जसपा नेता महेन्द्रप्रसाद यादव एमाले प्रवेश गरेका छन् । कार्यक्रममा विभिन्न दल त्याग गरी करिब तीन हजार नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेकाे एमाले जिल्ला सह–इन्चार्ज भगवती चाैधरीले बताइन् ।
जनसभामा सुनसरीका सबै निर्वाचन क्षेत्रबाट हज्जाराैं जनता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।
0 प्रतिकृया