Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


डा.शेखरले दिए चुनावी शुभकामना सन्देश

एक्सन खबर
बैशाख, १, २०७९


डा.शेखरले दिए चुनावी शुभकामना सन्देश

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले कांग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्ने बताएका छन् । नयाँ वर्षकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता काेइरालाले नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुन दृष्टि चुनाव केन्द्रित हुनुपर्ने बताएका हुन् ।

‘यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन । हाम्रो क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली कांग्रेसका हामी सिपाहीले यो वर्षलाई “चुनावी वर्ष” का रूपमा लिनु पर्नेछ ।’ नेता काेइरालाले भनेका छन् ।

यस्तै डा. काेइरालाले वितेको वर्ष नेपालीकाे लागि कष्टकर रहेकाे बताउँदै  वैश्यिक स्तरमा फैलिएको कोरोना महामारीले राजनीतिक, सामाजिक र आर्थिक जीवनलाई नकारात्मक प्रभाव पारेको पनि बताएका छन् । ‘कैयन परिवारले आफन्त गुमाएका छन् । मैले पनि मेरो अभिभावक (दाजु) गुमाएँ । कैयन परिवारको आर्थिक अवस्था अस्तव्यस्त भएर तिनमा जीवन देखि नै निराशा छाएको मैले देखेको छु । उनीहरूमा नवजीवनको धारा बगाउनु छ ।’

केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएकाे भन्दै काेइरालाले भनेका छन्,‘हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ । म तपाईँहरूबाट यही अपेक्षा गर्दछु ।’

मतभेद र मनभेदहरु पार्टीको आन्तरिक जीवनको विषय भएकाे बताउँदै उनले त्यस विरुद्ध पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्दै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि संघर्ष गरिरहने बताएका छन् । ‘उम्मेद्वार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो ।’

निर्वाचनको समयमा र पछि पनि जनता र कार्यकर्ताकाे घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने बताउँदै उनले इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको बताएका छन् । ‘तसर्थ, स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको हामी सबै सारथी बनौँ ।’














0 प्रतिकृया