ओलीलाई ‘मेधावी योगदान’ पदक
एक्सन खबर
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व
स्काउट एशिया प्रशान्त क्षेत्रद्वारा प्रदान गरिने ‘मेधावी योगदान’ उच्च
पदकबाट विभूषित गरिएकाे छ । राजधानीमा आयोजित मेधावी पदक सुशाेभन समाराेहमा
राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई ‘मेधावी योगदान’ ले सुशोभित गरिन्
।
विश्व स्काउटका पदाधिकारीहरू उपस्थित कार्यक्रममा स्काउटको विकास
र विस्तारमा महत्वपूर्ण योगदान गरेको भन्दै ओलीलाई ‘मेधावी योगदान’ ले
सुशोभित गरिएको हाे ।
प्रत्येक वर्ष विश्व स्काउटको एशिया प्रशान्त
क्षेत्रीय उच्च पदक विभिन्न देशका प्रतिष्ठित व्यक्तिलाई प्रदान गरिँदै
आएकोमा यस वर्ष नेपालका पूर्व प्रधानमन्त्री ओलीलाई प्रदान गरिएको नेपाल
स्काउटले जनाएकाे छ । विश्व स्काउटको यो तहको पदकबाट विभूषित हुने ओली पहिलो नेपाली हुन् । विश्वमा हालसम्म ११ जना यसबाट विभूषित भएका छन् ।
राष्ट्रपतिद्वारा विभिन्न मानवदवी र विभुषण सुशाेभन
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज नयाँ वर्षकाे अवसरमा सुशोभन गरेकी छिन् ।
असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व. तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व. दुर्गानन्द झा, स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यलाई प्रदान गरिएकाे छ ।
यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व. पोष्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरिएकाे छ ।
विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको छ । विभुषण पाउनेहरूमा उद्याेगी, व्यापारी, कलाकार, समाजसेवी, राष्ट्रसेवक, निजामती कर्मचारी, चिकित्सक, नर्स, खेलाडी, प्रशिक्षक, पत्रकार, मिडिया सञ्चालक समेत रहेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियाे ।
0 प्रतिकृया