Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


कोरोना महामारी पछि नेपालमा क्रिस्चियन आइएनजीओको लगानी बढ्यो

एक्सन खबर
बैशाख, २, २०७९


कोरोना महामारी पछि नेपालमा क्रिस्चियन आइएनजीओको लगानी बढ्यो

 काठमाडौं । कोरोना महामारीको समयमा क्रिस्चियन धर्मसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ)ले नेपालमा लगानी बढाएको पाइएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा ती आइएनजीओले नेपालमा खर्च गर्न करिव तीन अर्ब रुपैयाँ बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले उक्त बजेट स्वीकृत गरेको हो ।

परिषद्का अनुसार २०७८ साउनदेखि फागुन मसान्तसम्ममा १० वटा क्रिस्चियन आइएनजीओको २ अर्ब ७४ करोड ५५ लाख ८४ हजार १० रुपैयाँ बजेट स्वीकृत भएको छ । स्वीकृत गरिएका कार्यक्रमहरु तीन महिनादेखि पाँच वर्षसम्मको अवधिका छन् ।

परिषद्का सूचना अधिकारी दुर्गा प्रसाद भट्टराईका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा कूल ३३ आएनजीओको १४ अर्ब ६८ करोड ९५ लाख ३२ हजार ८४५ रुपैयाँ बजेट स्वीकृति भएको छ । कुल स्वीकृत बजेटमध्ये १८.६९ प्रतिशत हिस्सा किस्चियन आइएनजीको रहेको छ ।

क्रिस्चियन आइएनजिओहरुले विभिन्न ४० वटा जिल्लामा विकास कार्यक्रम सञ्चालन गर्न बजेट स्वीकृत गराएका हुन् । डडेलधुरा, बैतडी, डोटी, बझाङ, कञ्चनपुर, गोर्खा, पाल्पा, कैलाली, बर्दिया, रौतहट, धनुषा, सुनसरी, धादिङ, महोत्तरी, सिन्धुपाल्चोक, रोल्पा, प्युठान, सर्लाही, रुपन्देही, मुगु, सल्यान जिल्लामा विभिन्न कार्यक्रम गर्न बजेट स्वीकृत गराएका छन् ।

यस्तै, बाँके, गोर्खा, तनहुँ, कास्की, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, झापा, दोलखा, लम्जुङ, पाल्पा, काभ्रे, मकवानपुर, बारा, पर्सा, परासी र कपिलवस्तु जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्न उनीहरुले बजेट स्वीकृत गराएका छन् ।

परिषद्ले द फिनिस इभान्जेलिकल लुथरन मिसन फिनल्याण्डको ४ करोड ७९ लाख ९७ हजार ६ सय रुपैयाँ, क्याथोलिक रिलिफ सर्भिसेज अमेरिकाको १६ करोड ८१ लाख ४४ हजार २५० रुपैयाँ, मर्सी क्रप्सको १८ करोड २६ लाख १३ हजार ६७९ रुपैयाँ र एड्भेन्टीस्ट डेभलेपमेन्ट एण्ड रिलिफ एजेन्सी इन्टरनेसनल इन नेपालको १९ करोड २१ लाख ८९ हजार १२१ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

यस्तै, चाइल्ड फण्ड जापानको २१ करोड ७ लाख २७ हजार ८१७ रुपैयाँ, द लुथरन वर्ल्ड फेडरेसन स्वीट्जरल्याण्डको १२ करोड ५३ लाख ३१ हजार १८० रुपैयाँ, लेटर–डे सेन्ट च्यारिटीजको २ करोड २३ लाख १५ हजार ८२६ रुपैयाँ र द लिप्रोसी मिसन इन्टरनेसनल नेपालको १ अर्ब ७१ करोड ६६ लाख ८८ हजार ६९९ रुपैयाँ बजेट परिषद्ले स्वीकृत गरेको छ ।

नेपालमा बेलाबेलामा आइएनजीओहरुमाथि क्रिस्चियन धर्म प्रचार गर्ने गरेको आरोप लाग्दै आएको छ । तर बजेट स्वीकृत गरिएका आइएनजीको कार्यक्रम धर्म प्रचार गर्ने उद्देश्यले नभई विकासलाई लक्षित गरी आएको परिषद्ले जनाएको छ ।

‘धर्म प्रचार गर्ने उद्देश्यले ल्याइने कार्यक्रम र बजेट हामी स्वीकृत गर्दैनौं । जति पनि आइएनजीको बजेट स्वीकृत भएको छ ती विकास र नेपालको हित गर्ने खालका छन्,’ परिषद्का सूचना अधिकारी भट्टराईले भने ।













0 प्रतिकृया