Follow us:


Follow us

२३ असार २०८३, मङ्गलवार
२३ असार २०८३, मङ्गलवार


‘चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौं’ चितवन कांग्रेस

एक्सन खबर
बैशाख, ३, २०७९


‘चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौं’  चितवन कांग्रेस

चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए ।

शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ ।

भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहोर्याए ।

‘कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय त्योभन्दा तल्लो निकायले मान्न बाध्यकारी छौँ । म कांग्रेसको चितवन सभापति भएकाले पनि मान्न तयार छु । तर, निर्णय मान्ने हो कि निश्कर्षमा पुग्ने हो । जुन निकायले निर्णय गर्ने हो भोलि नतिजा अनुकुल वा प्रतिकुल हुँदा पनि त्यो निकायले पूर्ण रुपमा जिम्मा लिनुपर्छ,’ उनले भने ।

चितवन कांग्रेसले १५ दिनअघि नै संस्थागत निर्णय गरेर भरतपुर महानगरको मेयर नछाड्ने कुरा पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराईसकिएको उनले बताए ।

नजिता सकरात्मक आउने तरिका यो हो भनेर चितवन कांग्रेसले सघन छलफल गरेर केन्द्रीय समितिलाई लिखित प्रतिवेदन बुझाइसकेको भन्दै उनले एकात्मक खालको अवसरबाट गठबन्धनलाई स्थायित्व दिन नसकिने र जुनसुकै बेला दुर्घटनामा पर्न सक्ने बताए ।

‘समयको आवश्यकताअनुसार बनेको गठबन्धनसँग तालमेल गरेरअघि बढ्ने कुरामा तयार छौँ तर तालमेल जायज हुनुपर्यो । ग्राउण्ड सुहाउँदो हुनुपर्यो,’ उनले भने । नेपाली कांग्रेसको मूल्य, मान्यता, सिद्धान्त र विधानमा रुख चिह्नबाहेक अन्त पनि मत हाल भन्ने व्यवस्था नरहेको भन्दै उनले गठबन्धन गरेर अन्य चिह्नमा मत हाल्ने निर्णय गर्नु नै अनुशासनहिन काम भएको बताए ।

विगतमा गरेको सहयोग र वर्तमान संगठनको हिसाबले भरतपुर महानगरले मेयर कांग्रेसले पाउने गरी गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने कांग्रेसको संस्थागत निर्णय रहेको उनले बताए ।

त्यही निर्णयलाई आत्मसाथ गर्दै अन्य तहमा तालमेल गर्न जिल्ला संयन्त्रमा सघन छलफल भइरहेको उनले जानकारी दिए । ‘पटक पटक मेरो पक्षमा नै हुनुपर्छ भन्ने दृष्टिकोणबाट गठबन्धन मजबुत हुन सक्दैन । एउटा पक्षलाई निराश बनाएर अर्को पक्ष सँधै खुसी हुने प्रवृत्तिबाट गठबन्धन सघन भएर जान सक्दैन,’ उनले भने ।  

५० जना नेता कार्यकर्ताद्वारा सामुहिक राजिनामा

यता स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्यसमेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्वसभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए ।

पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ । उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएपनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।














0 प्रतिकृया