विराटनगर महानगरकाे मेयर उपमेयरमा कांग्रसबाट ७ र ११ जनाकाे नाम सिफारिस
एक्सन खबर
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयर र उपमेयरका उम्मेदवारहरूको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको छ । समितिले मेयरका लागि ७ जना र उपमेयरका लागि ११ जनाको नाम केन्द्रीय समितिलाई सिफारिस गरेको हाे ।
नगर सभापति दीपक चापागाईँका अनुसार मेयरका लागि जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्यहरू अमृत अर्याल, डा.डिला संग्रौला, बहालवाला मेयर तथा केन्द्रीय सदस्य भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम केन्द्रीय कार्यालयमा बुझाएको छ ।
यस्तै उपमेयरका लागि ११ जनाको नाम सिफारिस गरिएको अध्यक्ष चापागाइँले बताए । उपमेयरमा नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसकाे केन्द्रले नै महानगरको भागबण्डाको टुंगो लगाउने बताइरहेका बेला महानगर समितिले भने मेयर र उपमेयर उम्मेदवारका लागि नाम सिफारिस गरेको हो । महानगर समितिले विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरेको थियो ।
महानगर समितिले नाम सिफारिस परेपछि गठबन्धनमै रहेका दलहरूले कांग्रेसले दोहोरो चरित्र देखाउन थालेको आरोप लगाउन थालेका छन् । कांग्रेस मोरङको पार्टी कार्यालयमा गठबन्धनको बैठक चलिरहँदा कांग्रेस कार्यकर्ताले नाराबाजी गरेपछि गठबन्धन दलका अन्य नेताहरू बैठक छाडेर हिँडेका थिए ।
0 प्रतिकृया