कांग्रेसबाट पोखराको मेयरमा १८ जना आकांक्षी, उपमेयरमा १० जना
एक्सन खबर
पोखरा । नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले नाम टिपाएका कांग्रेसले जनाएको छ ।
यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले नाम टिपाएका हुन् ।
उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए ।
कांग्रेस पोखराले मेयरका लागि २५ हजार र उपमेयरका लागि २० हजार स्वेच्छिक शुल्क लिएको थियो ।
मेयरमा जेठाजु, उपमेयरमा बुहारीको दाबी
पोखराको मेयर र उपमेयरमा एउटै घरबाट पनि दाबी परेको छ । मेयरमा जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरमा बुहारी (मिलन थापा) ले नाम टिपाएका हुन् । उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधि पनि हुन् ।
महाधिवेशनकै बेला जेठाजु बुहारीलाई महाधिवेसन प्रतिनिधिमा रोक्ने प्रयास नभएको होइन । तर, दुवै जनाले अत्याधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
मेयरमा रामचन्द्रका छोरीज्वाईं परमेश्वर पोखरेल पनि दाबेदार छन् । उनी हाल पार्टीमा कुनै पनि पदमा छैनन् । गत मंसिरमा भएकाे १४औं महाधिवेशनअन्तर्गत कास्की सभापतिमा पराजित भएका सुदिपमोहन भट्टराई र जितेका किशोरदत्त बराल दुवैजना मेयरको आकांक्षी छन् ।
व्यवसायीहरू निर्मलप्रसाद कर्माचार्य, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई र किरण केसी पनि प्रमुख दाबेदारका रूपमा छन् । कृष्णबहादुर केसी हालका महासमिति सदस्य तथा कास्कीका निवर्तमान सभापति हुन् । बाबुराम आचार्य लामो समय सरकारी सेवामा रहेर सचिव पदबाट अवकास पाएका व्यक्ति हुन् भने सरास्वती गुरुङ अघिल्लो चुनावमा उपमेयरमा पराजित भएकी थिइन् ।
गंगाधर पराजुली पत्रकारिता हुँदै विभिन्न पदमा रहेर काम गरेपछि राजनीतिमा लागेका हुन् । उनी यसअघि पोखरा महानगरको पार्टी सभापतिमा पराजित भएका थिए । पुराना नेता नन्दप्रसाद तिवारी र वीरेन्द्रनारायण विजुक्छे पनि दौडमा छन् । कोपिला रानाभाट पार्टीको प्रदेश सहमहामन्त्रीमा कार्यरत छिन् भने ऋषि सापकोटा र विश्व घिमिरे पनि राजनीतिबाटै अघि बढेका हुन् ।
उपप्रमुखमा उम्मेद्वारी दिने माया बराल महिला संघ पोखराको सभापति हुन् भने लक्ष्मी पाण्डे निवर्तमान जिल्ला कोषाध्यक्ष हुन् । रंगीला आचार्य जिल्ला उपसभापतिमा निर्वाचित भएकी थिइन् ।
0 प्रतिकृया