Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


स्थानीय तहकाे निर्वाचनमा पुनः लड्न राजीनामा दिन थाले जनप्रतिनिधिहरू

एक्सन खबर
बैशाख, ९, २०७९


स्थानीय तहकाे निर्वाचनमा पुनः लड्न राजीनामा दिन थाले जनप्रतिनिधिहरू

काठमाडाैं । स्थानीय तहकाे निर्वाचनमा पुनः उमेदवारी दिन जनप्रतिनिधिहरूले धमाधम राजीनामा दिन थालेका छन् । निर्वाचनका लागि उमेदवार मनोनयनको मिति नजिकिदै जाँदा आगामी नेतृत्वका लागि आकांक्षि बहालवाला जनप्रतिनिधिले राजीनामा दिन थालेका हुन् ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले स्थानीय तहको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ ।

दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।

दाङमा पनि मेयर, वडाअध्यक्ष, सदस्य र जिल्ला समन्वय समिति सदस्य गरी शुक्रबारसम्म ८२ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।  घोराहीमा नगरप्रमुख नरुलाल चौधरीले बिहीबार नै राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए । उनका अनुसार घोराहीमा अरु थप दुई जना वडा सदस्यले राजीनामा दिएका छन् ।

तुलसीपुरमा शुक्रबारसम्म १० वडा अध्यक्ष र २० सदस्यले राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेले जानकारी दिए । त्यस्तै लमही नगरपालिकाका एक वडा अध्यक्ष र दुई सदस्य, गढवाका वडा अध्यक्ष र सदस्य १९ जना, राप्तीका १८, दंगिशरणका ३, शान्तिनगरका १, बबईका ४ र बंगलाचुलीका छ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

यस्तै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पनि पदबाट राजीनामा दिएका छन्। तामाङले आज पदबाट राजीनामा दिएका हुन् । उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए ।

यता, सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले आज पदबाट राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी भएका थिए । उनी जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुन् । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजिनामा दिएका हुन्।

यस्तै, दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् । शुक्रबार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन् ।

अधिकारीसहित नगरप्रमुखका लागि दमकबाट नेकपा एमालेले तीनजना आकांक्षीको नाम माथिल्लो कमिटीमा उम्मेदवार छनोटका लागि पठाएको छ । अधिकारीसहित अम्बिका खनाल र होमबहादुर थापाको नाम पनि नगरमा भोट नै गरेर माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।

चुनाव नजिकिएकाले राजीनामा दिइएको उनले बताइन् । ‘भोलि शनिबार बिदा भयो । आइतबार नोमिनेसनको हो । त्यसकारण आजै राजीनामा दिएँ,’ उनले भनिन् । अधिकारी लामो समय प्राध्यापन पेसाबाट २०७४ को स्थानीय तह निर्वाचनताका मात्र सक्रिय राजनीतिमा होमिएकी हुन् ।

त्यसबेला नेकपा एमालेले अधिकारीलाई उपप्रमुखको उम्मेदवार बनायो । उनी विजयी भइन् । दमक नगरपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालेपछि अधिकारी  एमालेको दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्य पनि भइन् ।

यसपटक उनीसहित सिफारिस गरिएका तीन नाममध्ये अधिकारी नगरप्रमुखको सशक्त दावेदार मानिन्छिन् । उपप्रमुख अधिकारीका श्रीमान् मदन अधिकारी एमाले अध्यक्ष केपी ओलीसँग निकट निर्माण व्यवसायी हुन् । यद्यपि मदन अधिकारीको मैनाचुली निर्माण कम्पनीले हुलाकी राजमार्गअन्तर्गत पर्ने बिरिङ नदीको पुल एक दशकदेखि अलपत्र पारेको छ ।

अधिकारीले मात्र हैन झापामा अन्य जनप्रतिनिधिले पनि राजीनामा दिन थालेका छन् । यसअघि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दीपिन्द्र थापाले पनि अध्यक्ष पदमा आकांक्षा देखाउँदै राजीनामा दिइसकेका छन् ।

सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले पनि पदबाट राजीनामा दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसकाबाट गाउँपालिका अध्यक्षमा विजयी भएका थिए ।

तर, ३० वैशाखमा हुने चुनावमा फेरि उम्मेदवारी दिने भन्दै यादवले पूर्वसन्ध्यामा राजीनामा दिएका हुन् । निर्वाचन आयोगले उम्मेदवार हुन चाहनेले कायम रहेको लाभको पदबाट राजीनामा गर्नुपर्ने प्रावधान कायम गरेका आधारमा उनले राजीनामा दिएका हुन् ।

यसैगरी सुनसरीकाे दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले पनि राजीनामा दिएका छन् । बैशाख ३० गतेकाे स्थानीय तहकाे निर्वाचनमा उमेदवारी दिन गच्छदारले पदबाट राजीनामा दिएका हुन् । उनी सहित नगर उपप्रमुख सुनिता साह लगायत १२ वटै वडाका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् ।

मुगुमा दुईजना जनप्रतिनिधिले राजीनामा दिएका छन् । छायानाथ रारा नगरपालिका- २ का वडा अध्यक्ष परेक राज चौलागाईंले पदबाट राजीनामा दिएका छ्न् । उनी पुन नेकपा एमालेबाट वडा अध्यक्षमा चुनाव लड्ने तयारीमा छ्न् ।

यस्तै छायानाथ रारा नगरपालिका- ५ का वडा अध्यक्ष डम्मर रावलले शुक्रबार राजीनामा दिएका छन् । रावलले नेकपा एमालेबाट छायानाथ रारा नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन् ।

हेटौंडा उपमहानगरपालिकाका ३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ र १९ नम्बर वडाका नरनाथ सुवेदीले राजीनामा दिएका छन् ।

यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका २७ जना  वडा सदस्यहरुले पनि शुक्रबारनै राजीनामा दिएका छन् ।













0 प्रतिकृया