स्थानीय तहको निर्वाचनमा फेरि लड्न जनप्रतिनिधिले दिए राजीनामा
एक्सन खबर
काठमाडाैं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएको बताएका छन् ।
जुम्लाकाे गुठीचौर गाउँपालिकाका १ वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा समाजवादी पार्टीमा आवद्ध छन् । उनी पुन: वडाध्यक्षमै प्रतिष्पर्धा गर्न पदबाट राजीनामा दिएका हुन् ।
यस्तै गुठीचौरकै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका लागि वडा कमिटीबाट निर्णय भएर आएको र पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए ।
त्यस्तै पातारासी गाउँपालिका२ का वडाध्यक्ष कन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए । पुनः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बोहराले बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै सिंजा गाउँपालिका–१ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पनि पदबाट राजीनामा दिएका छन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन् ।
त्यस्तै, तातोपानी गाउँपालिका–३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । चन्दननाथ नगरपालिका – ६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भिमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।
यता लम्जुङमा पनि जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा पुनः उम्मेवारी दिनका लागि जिल्लाका जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका हुन् । लमजुङको मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले वडाध्यक्ष पदबाट राजीनामा दिएका छ्न । उनी पुन: एमालेबाट वडाध्यक्षमा उठ्ने भएका छन् ।
बिहीबार नै लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रेम बहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजिनामा दिएका छन् । यस्तै बेसिसहर नगरपालिका ३ का वडासदस्य श्रीकान्त घिमिरेले पनि वडासदस्य पदबाट राजीनामा दिएका छन् । उनले बेसिशहर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन राजिनामा दिएका हुन् । उनीहरु दुबै जना नेपाली काग्रेसबाट उम्मेदवारी दिन लागेका हुन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।
जिल्लामा ७५ वटा वडा रहेकामा अन्य जनप्रतिनिधिहरूले पनि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पुनः उम्मेदवारी दिन पदबाट राजीनामा दिने तयारी गरिरहेका छन् ।
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । सन्धिखर्कमा पत्रकार सम्मेलन गरी नगर प्रमुख कमल प्रसाद भुसालसहित २१ जना जनप्रतिनिधिहरुले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।
नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार बिकसमक्ष राजीनामा दिएका हुन् । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरुले दिएको राजिनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए । नगरप्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
तनहुँका जनप्रतिनिधिले पनि धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने दिन नजिकिएसँगै पुनः स्थानीय तहको जनप्रतिनिधिमा दोहोरिन चाहनेले राजिनामा दिईरहेका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका १९ जना जनप्रतिनिधीले राजीनामा दिएका छन् । शुक्रबारसम्ममा राजीनामा दिनेमा पाँच जना वडाध्यक्ष पनि छन् । शुक्लागण्डकी–४ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, शुक्लागण्डकी–५ का दिर्घबहादुर थापा, ८ का कृष्णप्रसाद रेग्मी, १० का रामचन्द्र भण्डारी र १२ का वडाध्यक्ष मनराज गुरुङले राजीनामा दिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठ, थापा, रेग्मी, भण्डारी र गुरुङ फेरी वडाध्यक्षमै दोहोरिन चाहान्छन् ।
बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले पनि राजीनामा दिएका छन् । गाउँपालिकाको उपाध्यक्षका आकांक्षी उनले शुक्रबार गाउँपालिका अध्यक्ष पूर्णसिं थापासमक्ष राजीनामा बुझाएका हुन् ।
११ र १२ वैशाखमा उम्मेद्वारको मनोनयन दर्ताको मिति निर्वाचन आयोगले तोकेको छ । बहालवाला जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने सर्वोच्चले फैसला गरेसँगै जनप्रतिनिधिले धमाधम राजीनामा दिन थालेका हुन् ।
0 प्रतिकृया