राजनीति भर्सेज स्वतन्त्र कसको पल्लाभारी ?
एक्सन खबर
धरान, १८ असार । सोमबार हुन गइरहेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा कसले बाजी मार्ला ? संघमा आबद्ध करिब तीन हजार उद्योगी व्यवसायी बिच कौतुहलताको विषय बनेको छ । विगतमा अध्यक्ष पदमा द्विपक्षीय प्रतिष्पर्धा हुँदै आएकोमा योपल्ट त्रिपक्षीय प्रतिष्पर्धा भइरहेकाले पनि चुनावी मत परिणाम कसको पोल्टामा जाला सर्वत्र चासो छ ।
असार २० गते हुन गइरहेको निर्वाचनमा वर्तमान उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्वउपाध्यक्ष विजय श्रेष्ठ र पूर्वअध्यक्ष पवन अग्रवाल विच प्रतिष्पर्धा छ । यी मध्ये दुई उम्मेदवारले राजनीतिक पार्टीको झण्डा ओढेर निर्वाचनमा होमिएका छन् । नेकपा एमालेले शिवराज श्रेष्ठलाई बोकेको छ भने, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत गठबन्धन दलमा रहेकाहरूले विजय श्रेष्ठलाई समर्थन जनाएका छन् । अध्यक्षका प्रत्यासी उम्मेदवार दुवैले प्यानलै घोषणा गरेका छन् ।
अध्यक्षका अर्का प्रत्यासी पवन अग्रवाल चैं स्वतन्त्र उम्मेदवार हुन् । उद्योगी व्यवसायीहरूको हक अधिकारका लागि स्थापना भएको संस्थामा राजनीति हुनुहुँदैन भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको बताउँदै आएका छन् ।
सुरुमा अग्रवालले निर्वाचनमा उठ्ने मनस्थिति बनाएका थिएनन् । तर, निर्वाचनको मिति नजिकिँदै गर्दा संघको निर्वाचनलाई लिएर राजनीतिक दलका नेता कार्यकर्ताहरूले उम्मेदवार तोक्न थालेपछि, संघको विधि विधान र मर्यादा विपरित कार्य भइरहेको ठहर गर्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
‘सुनसरी उद्योग वाणिज्य संघभित्र बढी नै राजनीति घुस्यो, मैले धेरै वर्ष अगाडि देखि नै संस्थामा राजनीति नगरौं यदि त्यसो गर्नुहुन्छ भने म पुनः संस्था बचाउन आउँछु भन्दै आएको थिए । योपल्ट उद्योगी व्यवसायीहरू नै म कहाँ आएर अब पनि तपाई आउनु भएन भने संस्था सङ्कटमा पर्छ भनेपछि म अगाडि बढेको हुँ ।’ २०६० सालमा धराशायी भएको संस्थालाई नेतृत्व प्रदान गरेर आफ्नै भवन समेत बनाउन सफल उनले भने ।
उनले २०५८ सालदेखि ०६० सालसम्म संघलाई बचाउन ठूलै लडाईं लडे । खगेन्द्र श्रेष्ठको अध्यक्षतामा निर्वाचित कार्य समितिमा अग्रवाल उपाध्यक्ष थिए । तर, श्रेष्ठले संघमा एकलौटी शासन गर्न संघको विधान नै परिवर्तन गरेर अध्यक्षको अनुमति विना साधारण सभा बोलाउन नपाउने, निर्वाचित सदस्यहरूलाई अध्यक्षले निष्कासन गर्न पाउने, अध्यक्षका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने लगायत निरंकुशता लाद्न खोज्दा अग्रवाल श्रेष्ठको विरुद्ध खडा भएर संस्था जोगाएका थिए ।
अहिले संघमा अचाक्ली राजनीति भएपछि संघलाई पुरानै अवस्थामा फर्काउन अग्रवालले अध्यक्षमा उम्मेदवारी दिएको दावी गर्छन् । त्यसो त गएको निर्वाचनमा पनि राजनीतिकरण हुन खोजेपछि उनले उम्मेदवारी दिएका थिए । पछि नाम फिर्ता लिए ।
उद्योग वाणिज्य संघमा राजनीति हुनुहुन्न नभन्नेहरूको जमात बढ्दो छ । शिवराज श्रेष्ठ र विजय श्रेष्ठको प्यानलबाट सदस्यमा उम्मेदवारी दिएका कतिपय युवाहरु अध्यक्षमा अग्रवाललाई नै भोट दिने पक्षमा देखिएका छन् । ‘अहिलेको परिस्थितिमा कुनैपनि दलमा आबद्ध नभइकन स्वतन्त्र ढंगले चुनाब जित्ने परिस्थिति छैन । सदस्यमा जित्न पनि प्यानलको भोट चाहिएकोले मात्र दलमा आबद्ध भएको हुँ, नत्र मेरो उम्मेदवारी स्वतन्त्र हो ।’ वर्तमान कार्य समितिकै एक सदस्यले भने ।
राजनीतिक आवरणमा उम्मेदवारी दिएका शिवराज श्रेष्ठ र विजय श्रेष्ठलाई मत माग्न धरानका स्थानीय दलका नेता कार्यकर्ताहरू व्यापारीका पसलपसल दौडिइरहेका छन् । तर, कतिपय धरानका उद्योगी व्यापारीहरूले संघभित्र राजनीति घुसाएको पटक्कै मन पराएका छैनन् । ‘उद्योगी व्यापारीहरूको हक अधिकारको लागि खोलिएको संस्थामा खुलेआम पार्टीहरूले हस्तक्षेप गर्नुहुँदैनथ्यो । राजनीतिक दलको झण्डा ओढेर चुनाब जित्ने हरुले निष्पक्ष भएर कसरी काम गर्लान् ?’ धरान १ पुरानो बजारका एक मतदाता प्रश्न गर्छन् ।
पछिल्लो समय राजनीतिमा समेत स्वतन्त्र उम्मेदवारहरूले लोकप्रिय मत पाएर जितेको परिवेशमा सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारले जित हासिल गर्ने आधार तयार भएको छ । राजनीतिक दलहरू प्रति जनताको वितृष्णा बढी रहेको अवस्थामा पवन अग्रवालले त्यसको फाइदा उठाउन सक्छन् ।
त्यसो त यसपल्टको निर्वाचनमा दुवै प्यानलले नेवार उम्मेदवार उठाएकाले भोट काटाकाट हुने परिस्थिति पनि बनेको केही मतदाताको बुझाई छ । ‘दुई नेवार लड्दा त्यसको फाइदा अग्रवाललाई हुनसक्छ भन्ने अनुमान गर्न सकिन्छ तर, भर पर्न सकिन्न ।’ संघका एक पूर्वअध्यक्ष भन्छन् । उनी पनि संघको निर्वाचनमा दलको आडमा चुनाब लड्नु गलत संस्कारको बिजारोपण भएको जिकिर गर्छन् । ‘विगतमा राजनीतिक दलहरूको भूमिका पर्दा पछाडि देखिन्थ्यो योपल्ट पर्दा अगाडि नै आएर यो मेरो पार्टीको यो तेरो पार्टीको भने । दलीय हस्तक्षेप बढ्दा भोलिका दिनमा संस्था चलाउन अफ्टेरो पर्छ ।’ नाम उल्लेख नगर्ने शर्तमा ती पूर्वअध्यक्ष भन्छन् ।
अध्यक्षका तीनै आकाङ्क्षीको पृष्ठभूमि बलियो छ । शिवराज श्रेष्ठ, विजय श्रेष्ठ धरानका व्यापारी माझ कहलिएका नाम हुन् । पवन अग्रवाल धरानका ठूला व्यापारी र समाजसेवीमा गनिन्छन् ।
संघको यसपल्टको निर्वाचनमा २ हजार ९ सय ७७ जना मतदाता रहेका छन् । यसमा सबैभन्दा धेरै वाणिज्य तर्फको मत रहेको छ । निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार वाणिज्य तर्फ १ हजार ८ सय ५८, उद्योग तर्फ १ हजार ३, वस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् ।
निर्वाचन अगाडि चार जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । एसोसिएट्सतर्फको गोपाल श्रेष्ठ, अशोक जैन र राजु साह निर्विरोध निर्वाचित हुँदा उद्योग तर्फ महिला सदस्यमा स्तुति श्रेष्ठ निर्विरोध भइसकेकी छन् । संघको विधान अनुसार अध्यक्ष र सदस्यका लागि निर्वाचन हुनेछ । संघको प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, तीन सचिव, कोषाध्यक्ष पदमा निर्वाचित सदस्यहरूबाट मनोनित गर्ने प्रावधान रहेको छ ।
0 प्रतिकृया