Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


सिंहदरवारको गेटको सीसीटीभी फुटेज मगाउँदै समिति

एक्सन खबर
साउन, ८, २०७९


सिंहदरवारको गेटको सीसीटीभी फुटेज मगाउँदै समिति

काठमाडौं, ८ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

उक्त समितिको आइतबार बसेको बैठकले सिंहदरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि समितिले सिंहदरवारकै गेटको फुटेज मगाउने निर्णय गरेको हो । बजेट निर्माणका क्रममा १४ जेठको राति को को आएका हुन् भन्ने विषयको सत्यतथ्य पत्ता लगाउन सिंहदरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो ।

अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । समितिलाई जवाफ दिनेक्रममा शर्माले आरोप अस्वीकार गरिसकेका छन् । पटक पटक संसद बैठकमा पनि उनले आरोप अस्वीकार गर्दै विधि र प्रक्रियामै रहेर बजेट निर्माण गरेको जिकीर गरेका थिए ।

छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट मानबहादुर विश्वकर्मा र सिताराम मेहता, माओवादीबाट देवप्रसाद गुरुङ र शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीबाट सरला यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण छन् ।













0 प्रतिकृया