आज एकैदिन जनै पूर्णिमा, रक्षा बन्धन तथा गाइजात्रा
एक्सन खबर
काठमाडौं, २७ साउन । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । यस्तै आज गाइजात्रा पनि परेकाे छ । आज सार्वजनिक बिदा पनि हो ।
वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।
अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ ।
तराई क्षेत्रमा आज रक्षा बन्धन मनाइन्छ । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाउछन् । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।
आजको दिन विभिन्न गेडागुडी भिजाएको क्वाटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । आज काठमाडौंको मणिचूड, ललितपुरको कुम्भेश्वर लगायत क्षेत्रमा बिहानैदेखि मेला लाग्ने गर्छ ।
आज गाईजात्रा
आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । याे पल्ट ९ वर्गपछि जनैपूर्णिमा, गाइजात्रा एकैदिन परेकाे हाे ।
काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो । पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ ।
0 प्रतिकृया