‘५० लाख मत सहित एमालेले बहुमत ल्याउँछ’ केपी शर्मा ओली
एक्सन खबर
काठमाडौं, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् । लोकतान्त्रिक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।
उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।
यस्तै, तुल्सीलाल स्मृति सभा भवनमा आयोजित पार्टी प्रवेश कार्यक्रम तथा सुदूर पश्चिम प्रदेश सम्पर्क कमिटीको प्रशिक्षणका सहभागीहरूलाई सम्वोधन गर्दै ओलीले आगामी निर्वाचनमा पार्टीले ५० लाख लोकप्रिय मतका साथ एक्लै शानदार बहुमत ल्याउने दावी गरे ।
‘मैले मंसिर ४ गते हुने संसदको निर्वाचनको परिणाम नआएसम्म एमाले निदाउँदैन भनेको छु, तपाईंहरू त्यसरी नै वडो जिम्मेवारीका साथ लाग्नुस् । कसैले जनता अल्मलाउन नपाओस् ।’ ओलीले भने ।
वर्तमान गठबन्धनवालाको नीति र गतिविधि अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी भएको चर्चा गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा प्रतिस्पर्धाको राजनीति हुन्छ तर गठबन्धनवालाहरूले दुश्मनीको राजनीति अँगालेको बताए ।
पद नपाउने वित्तिकै माधव नेपाल बुरूक्क उफ्रेर प्रतिक्रियावादी कित्तामा पुुगेको र उनको उद्देश्य नेकपा (एमाले) लाई हराउने बाहेक अरू केही नभएको चर्चा गर्दै उनले एमालेबाट अरू कोही मान्छे नबाहिरिएको बरू दिनहुँ पार्टी प्रवेश भइरहेका र पार्टी एकताबद्ध रहेकाले हरेस खानुपर्ने कुनै कारण नभएको वताए ।
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डको चाहना प्रति लक्षित गर्दै भने ‘काँग्रेसलाई पहिलो बनाउने र आफू दोस्रो बन्ने लक्ष्य कम्युनिष्ट आन्दोलन सिध्याउने बाटो हो ।’
गठबन्धनमा रहेकाहरू बामपन्थी नभई प्रतिक्रियावादी हुन् भन्दै अध्यक्ष ओलीले आफूलाई कम्युनिष्ट र वामपन्थी हुँ भन्नेहरूलाई एमालेसँग सहकार्य गर्न, एमालेमा आउन पुनः आह्वान गरे ।
0 प्रतिकृया