धरानका जनप्रतिनिधि र दलीय संयन्त्रद्वारा ६ वटा मन्त्रालयमा डेलिगेसन
एक्सन खबर
काठमाडाैं, ३० साउन । धरानकाे सत्ता गठबन्धन दलकाे दलिय संयन्त्रकाे पहल र अगुवाईमा गएकाे धरान उपमहानगरका प्रमुख हर्कराज राई र उपप्रमुख अइन्द्र विक्रम वेघा सहितकाे प्रतिनिधि मण्डलले आज भाैतिक पुर्वाधार तथा यातायात मन्त्री, वन तथा वातावरण मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग भेट गरेकाे छ ।
भाैतिक पुर्वाधार तथा यातायात मन्त्री माेहम्मद ईस्तियाक राईसँगकाे भेटमा सर्दु पुलदेखि भन्ज्याङसम्मकाे सडक निर्माण र सेउती खाेला खांकरडाँडामा पक्की पुल निर्माणका लागि मन्त्रालयले बजेट व्यवस्था गर्ने भएकाे छ ।
त्यसैगरी वन तथा वातावरण मन्त्री प्रदिप यादवसँगकाे भेटमा जिल्ला ट्राफिक कार्यालय सुनसरीकाे भवन निर्माणका लागि तिनकुनेस्थित लाङ्घाली सामुदायिक वनकाे ५ कठ्ठा जग्गा उपलब्ध गराउने प्रतिबद्धता भएकाे छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँगकाे भेटमा वीपी पार्क, सभागृह मर्मत, नाटक घर निर्माण, हेलिपेड निर्माण, सप्तकाेशी कटान नियन्त्रण, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिर लगायत वृहत्तर विजयपुर विकास समिति निर्माण, विष्णुपादुका, रामधुनी, वर्जु ताल लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटनकाे रुपमा विकास गर्न ब्रान्डिङ गर्ने, पर्यटकीय खेलकुदलाई विकास गर्ने, धरान विमानस्थलकाे पृष्टभुमिकाे अध्ययन गर्ने लगायतकाे विषयमा सकारात्मक छलफल भएकाे छ ।
प्रतिनिधि मण्डलमा दलीय संयन्त्रका संयाेजक किशाेर राई, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेकपा माओेवादी केन्द्रका नगर इन्चार्ज चाेत्लुङ, जसपाका नगर अध्यक्ष ताजुव लिम्बू, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष रेवतीरमण राई, नेपाली काँग्रेसका प्रदेश सदस्य गणेश परियार, नेकपा माओवादी केन्द्रका नगर सचिवालय सदस्य सीपी बजगाई रहेका छन् ।
यस्तै गरी, प्रतिनिधि मण्डलमा जसपाका संघीय अध्यक्ष अशाेक कुमार राई, पुर्व प्रदेश प्रमुख डा. गाेविन्द सुब्बा, सांसद मिना सुब्बा, सांसद सिताराम महताे, राष्ट्रिय सभा सदस्य जयन्ती राई, जसपाका केन्द्रीय सदस्य भिम राई, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जीवन राई, काँग्रेसका नेताहरु डा. तुलसी गाैतम, प्रेम राई, काठमाण्डाैं सुनसरी सम्पर्क समितिका अध्यक्ष बाबुराम आचार्य लगायत पनि सहभागी थिए ।
टाेलीले हिजाे स्वास्थ्य मन्त्री र शिक्षा मन्त्रीलाई पनि भेट गरेकाे थियाे । स्वास्थ्य मन्त्री भवानी खापुङसँग वीपी प्रतिष्ठानकाे डेफिसिट बजेट, शिक्षक कर्मचारीकाे वृत्ति विकास, एमआरआई मेशिन, आइसियु, डायलाईसिस, क्याथ ल्याव, कार्डियाेलाेजी सेन्टर र अन्काेलाेजी सेन्टर निर्माण, आर्थिक काराेबारलाई एकद्वार नीति अवलम्वन गर्ने लगायतका बारेमा सकारात्मक छलफल भएकाे कांग्रेस क्षेत्रिय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।
साथै भदाै ५ गते वीपी प्रतिष्ठानकाे स्थलगत निरीक्षण गर्न मन्त्री खापुङ धरान आउने भएका छन् । साथै बराहक्षेत्र नगरपालिकाले चतरा अस्पतालका लागि एम्वुलेन्स र शव वाहन खरिद गर्ने भएमा मन्त्रालयले सम्पुर्ण कर छुट गर्ने समेत भएकाे छ । भेटमा स्वास्थ्य सचिव डा. राेशन पाेखरेलकाे उपस्थिति रहेकाे थियाे ।
त्यसैगरी टाेलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पाैडेलसँग पनि भेट गरेकाेमा बहुभाषिक विद्यालय निर्माण र सञ्चालन, नगरपालिकाकाे सहकार्यमा सिटिभिटिबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले सहयाेग गर्ने भएकाे छ ।
टाेलीले सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग पनि भेट गरेकाे छ । मन्त्री कार्कीसँगकाे भेटमा धरानमा डाटा सेन्टर निर्माण गर्ने र धरानकाे समग्र विकासमा मन्त्रालयले पुर्ण सहयाेग गर्ने समेत भएकाे छ ।
0 प्रतिकृया