Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


तीन वर्षमा १ अर्ब ४१ कराेड घाटा, चिकित्सक, कर्मचारीकाे सुविधा कटाैती

एक्सन खबर
भदौ, १, २०७९


तीन वर्षमा १ अर्ब ४१ कराेड घाटा, चिकित्सक, कर्मचारीकाे सुविधा कटाैती

सुनसरी, ३१ साउन । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यथास्थितिमा सुधार गर्न नसकिने बताइएकाे छ । धरानका नवनियुक्त रजिष्ट्रार प्रा.डा. सूर्य सङ्ग्रौलाले श्वेतपत्र जारी गर्दै आर्थिक रूपमा कमजोर भएकाे प्रतिष्ठान यथास्थतिमा सुधार गर्न नसकिने जिकीर गरेका हुन् ।

रजिष्ट्रार संग्राैलाले प्रतिष्ठानकाे विषयमा श्वेतपत्रमा कोभिड–१९ महामारी पछि प्रतिष्ठान आर्थिक रूपमा कमजोर बन्दै गएको सरकारले कुनै सहयाेग नगरे प्रतिष्ठान जर्जर हुने दावी गरेका छन् ।

एक महिना अगाडी मात्र रजिष्ट्रार भएर प्रतिष्ठान आएका डा. संग्राैलाले विगतमा मित्रराष्ट्र भारत सरकारले दिने सहयोग रोकेसँगै नेपाल सरकारबाट प्राप्त हुँदै गएको अनुदानमा पनि कमी आएको उल्लेख गर्दै आम्दानीकाे श्राेत घट्दै जाँदा प्रतिष्ठान आर्थिक रूपमा कमजोर बन्दै गएको जनाएका छन् ।

त्यससँगै प्रतिष्ठानकाे आन्तरिक आम्दानीमा कोभिड महामारीले ठूलाे असर गरेकाे जनाउँदै यस्तो विषम परिस्थितिमा नेपाल सरकारले कुनै सहयोग नगरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

रजिष्ट्रार संग्राैलाले समयानुकूल शिक्षक तथा कर्मचारीहरूको तलब तथा सुविधा वृद्धि गर्नुपर्ने अवस्थाले गर्दा प्रतिष्ठान थला परेको श्वेत पत्रमा उल्लेख गर्दै कोभिड–१९ महामारीले स्वास्थ्य उपचारमा आउने बिरामीको चाप घटेको तथा एक शैक्षिक सत्रमा विद्यार्थी भर्ना नै हुन नसकेको कारण प्रतिष्ठानकाे आम्दानीमा  १ अर्ब ४१ करोड बढी गिरावट आएको जनाएका छन् ।

आम्दानी घटेकै कारण अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवा बाहेक शिक्षक तथा कर्मचारीहरूले पाइरहेको सुविधालाई स्थगित गर्नु परेको जनाएका छन् । ‘आर्थिक अवस्था नाजुक भएको कारणले प्रतिष्ठानले अस्पताल सञ्चालन, परीक्षाको कार्यक्रम र अत्यावश्यक सेवाबाहेक शिक्षक कर्मचारीले पाइराखेको सुविधासमेत स्थगित गर्नुपरेको छ, प्रतिष्ठानका विशेषज्ञ र अनुभवी चिकित्सक एवं प्राध्यापकहरुमा निराशा उत्पन्न भइ पलायन हुने अवस्था सृर्जना भएको छ ।’ श्वेतपत्रमा उल्लेख गरिएकाे छ ।

यस्तै, कोभिड १९ महामारी पछि लगातार पछिल्लो ३ आर्थिक वर्षमा आम्दानी घट्न गएर प्रतिष्ठान आर्थिक संकटमा फसेको तथा स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत बीमा बोर्डमा दाबी गरिए अनुसार रकम उपलब्ध नहुँदा पनि प्रतिष्ठान धरासायी हुँदै गएको जनाइएकाे छ ।

विगत २ वर्षदेखि प्रतिष्ठानकाे आम्दानी १ अर्बभन्दा बढीले घटेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ५८ करोड ६६ लाख रुपैयाँ बचत भएको प्रतिष्ठानमा आर्थिक वर्ष २०७६/०७७ मा कोभिड महामारी सुरु भएसँगै आम्दानीलाई पनि असर गर्न थालेको भनिएकाे छ । उक्त आर्थिक वर्षमा प्रतिष्ठानको अवस्था २९ करोड ४३ लाख ऋणात्मक थियो ।

प्रतिष्ठानकाे आन्तरिक आय र नेपाल सरकारबाट प्राप्त बजेट समेत गरी २ अर्ब १९ करोड ८५ लाख आम्दानी गरेको प्रतिष्ठानले उक्त वर्ष सञ्चालन खर्चतर्फ २ अर्ब ४९ करोड २८ लाख रुपैयाँ खर्च गरेको तथा आर्थिक वर्ष २०७७/०७८ मा प्रतिष्ठान ९१ करोड ४३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा पुगेको श्वेतपत्रमा भनिएकाे छ ।

कोभिड महामारीकै कारण उक्त वर्ष आम्दानी १ अर्ब ९१ करोड ६ लाखमा खुम्चिँदा सञ्चालन खर्च २ अर्ब ८२ करोड ४९ लाख पुगेको थियो । आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रतिष्ठानको आर्थिक अवस्था ४१ करोड ऋणात्मक रहेको जनाउँदै यो वर्ष कुल आम्दानी २ अर्ब ७१ करोड ४४ लाख पुगेपनि सञ्चालन खर्च वृद्धि भएर ३ अर्ब १२ करोड ४४ लाख पुगेको प्रतिष्ठानले जनाएकाे छ ।

तीन वर्षयता चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन गरी शैक्षिक कार्यक्रमको सिट सङ्ख्या तथा शुल्क समेत घटाएको कारण प्रतिष्ठानको आम्दानी झनै कम भएको बताइएको छ । स्वास्थ्य बिमा ऐन जारी भई स्वास्थ्य बिमा कार्यक्रम लागू भए पश्चात् नियमित रूपमा शोधभर्ना नभएको कारण पनि प्रतिष्ठान थला परेको रजिष्ट्रारले श्वेतपत्रमा उल्लेख गरेका छन् ।

यस्तै गरी दिनानुदिन विभिन्न पत्र पत्रिकामा नकारात्मक तथा भ्रामक समाचार सम्प्रेषण हुने गरेकोले प्रतिष्ठान प्रति वफादार शिक्षक कर्मचारीहरूलाई मर्माहत पारेको समेत जनाउँदै रजिष्ट्रारले प्रतिष्ठानसँग सम्बन्धित समाचारहरूलाई सत्य र तथ्यको आधारमा पुस्ट्याइँ गरेर मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।

प्रतिष्ठानको वर्तमान अवस्था जटिल र चुनौतीपूर्ण बन्दै गइरहेको बताउँदै उनले संघीय सरकार, प्रदेश सरकार, स्थानीय राजनीतिक दल,  नागरिक समाज सबैको सहयोगले प्रतिष्ठान सुधार्न सकिने भन्दै सहयाेग मागेका छन् ।

हेर्नुहाेस् श्वेतपत्र













0 प्रतिकृया