नागरिकता विधेयकबारे राष्ट्रपतिले राखिन् प्रचण्डसँग चासो
एक्सन खबर
काठमाडौं, १५ भदौ । आफूले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको तस्तै आउने संकेत देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सत्तारुढ माओवादी केन्द्रका नेतासँग चासो राखेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरुसँगको भेटमा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकबारे चासो राखेकी हुन् ।
दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेकय २०७९ लाई राष्ट्रपति भण्डारीले केही संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित फिर्ता पठाएकी थिइन् ।
तर, प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गरिसकेको र राष्ट्रिय सभाबाट पनि हुबहु पारित भई फेरि प्रमाणीकरणका लागि उक्त विधेयक आउने भएपछि राष्ट्रपति भण्डारीले दलका शीर्षनेतासँग छलफल गरेकी छन् ।
बुधबार माओवादी नेतासँगको भेटमा पनि उनले नागरिकता विधेयकबारे चासो राखेकी प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । राष्ट्रपतिको चासोपछि अध्यक्ष प्रचण्डले यसबारे सरकारले राष्ट्रिय सहमति बनाएर विधेयक ल्याउने प्रतिबद्धता जनाएका मल्लले जानकारी दिए ।
वैवाहिक अंगीकृत विषयमा राष्ट्रपतिको चासो र माओवादीको धारणा समान रहे पनि संसदमा राष्ट्रिय सहमति जुट्न नसकेको बताउँदै प्रचण्डले तत्काल जन्मसिद्ध नागरिकका सन्ततिहरु राज्यविहिन बन्ने अवस्था अन्त्य गर्नका लागि उक्त विधेयक ल्याएको जानकारी गराए ।
नागरिकता विधेयक विधायन समितिबाट हुबहु पारित
यता राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ हुबहु पारित गरेको छ ।
संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका केही विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता गरेकी थिइन् । यसपछि बसेको प्रतिनिधिसभाले उक्त विधेयक जस्ताको तस्तै पारित गरेर सन्देशसहित राष्ट्रिय सभामा पठाएको थियो ।
राष्ट्रिय सभाले थप छलफलको आवश्यकता ठानेर विधायन समितिमा पठाएको हो । बुधबार बसेको विधायन समिति बैठकले पनि संशोधनविना उक्त विधेयक हुबहु पारित गरेको हाे ।
१५ सदस्यीय समितिले बैठकले बहुमतका आधारमा पारित गरेको हो । समितिमा सत्तारुढ गठबन्धनको बहुमत रहेको छ । तर, एमालेका तीन जना र स्वतन्त्र हैसियतका खिमलाल देवकोटा र विमला राई पौडेलले पनि फरक मत राखेका थिए ।
0 प्रतिकृया