Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


‘मंसिर ४ गते पछि मुलुकमा नेकपा एमालेको सरकार गठन हुन्छ’ केपी शर्मा ओली

एक्सन खबर
भदौ, १८, २०७९


‘मंसिर ४ गते पछि मुलुकमा नेकपा एमालेको सरकार गठन हुन्छ’ केपी शर्मा ओली

सुनसरी, १८ भदौ । आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । राष्ट्र, राष्ट्रीयता, राष्ट्रिय अखण्डता, स्वाभिमान र विकासका लागि जनताले मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बहुमत दिने दावी समेत गरे ।

नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ समन्वय समितिले दुहवीमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष ओलीले समाजमा रहेका असमानता र विभेदहरुलाई सामाजिक न्याय र समानताको आधारमा, समानुपातिक समावेशिताको आधारमा, सबै नागरिकलाई समान अधिकार र समान अवसरको प्रत्याभूति गर्दै नेकपा एमालेको सरकारले गर्ने दावी गरे ।

स्वदेशमै राजगारीको अवसर सृजना गर्दै आठओटा औद्योगिक क्षेत्रको घोष्णा गरेर नेकपा एमालेले देशभर अवसरको सृजना गरेर देशमा नयाँ विकासको लहर ल्याएको कुरा गर्दै ओलीले राष्ट्रिय आत्मनिर्भरताको लहर ल्याएको जनाए ।

ओलीले एमाले जातजातका कुरामा नअल्झिने पनि जनाए । ‘हामी जातजातका कुरामा अल्झँदैनौ, हामी सामाजिक न्याय र समानताका आधारमा सबैलाई बराबरी हक, बराबरी अवसर, बराबरी न्यायको आधारमा राष्ट्रिय एकता कायम गरी नेपाल राष्ट्रको विकास गर्छौ ।’ अध्यक्ष ओलीले भने ।

यस्तै ओलीले सुनसरीको क्षेत्र नं. ३ बाट दुई दुई वटा निर्वाचन लडेकी भगवती चौधरीले जितेर पनि हारेको प्रसंग निकाल्दै मंसिर ४ गतेको निर्वाचनलाई निष्पक्ष र धाँधली रहित गराउन राज्य र प्रशासनले स्वतन्त्र रुपमा काम गर्नुपर्ने बताए । राष्ट्र सेवक कर्मचारीहरु कुनै दलको तलब नखाएकाले कसैको दवाव र प्रलोभनमा नपरी काम गर्नुपर्ने जिकीर गरे ।

पछिल्लो समय नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर रहेको जनाउँदै आगामी निर्वाचनमा राष्ट्रियता, स्वाधिनताका पक्षमा एमालेलाई मत दिन समेत आग्रह गरे ।


कार्यक्रममा बोल्दै नेतृ चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र समृद्धिको लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताइन् । दशकौंदेखि सुनसरी ३ विकास र परिवर्तनको पखाईंमा रहेको बताउँदै नेतृ चौधरीले आफु आफ्नो जन्मभूमि र कर्मभूमिमै सर्मपण रहेको बताइन् । विगतका जितेर पनि चुनाब हारेता पनि योपल्ट जनताहरुले परिवर्तनकै पक्षमा मतदान गर्ने विस्वास गरेको बताइन् ।

नेकपा एमालेले नै मुलुकमा समाजवाद ल्याउने दावी गर्दै सिद्धान्त र विचार नमिलेका सत्तारुढ गठबन्धन दलले देशको विकास गर्न नसक्ने दावी गरिन् । एकवर्षयता मुलुकको अर्थतन्त्र धरासायी भएको अवस्थामा सरकारले अर्थतन्त्र उकास्न पनि केही नगरेको चौधरीको भनाई छ ।

कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ अन्तरगत बर्जु, गढी, दुहवी, इटहरीका दुई हजार बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओली, नेतृ चौधरी, जिल्ला इन्चार्ज जगदिश कुसियत लगायतले अविर तथा दोसल्ला लगाएर स्वागत गरेका थिए ।  













0 प्रतिकृया