कप्तान सन्दीप लामिछाने निलम्बनमा
एक्सन खबर
काठमाडाैं, २३ भदाै । किशाेरीलाई जबरजस्ती करणी गरेकाे उजुरी परेपछि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् ।
बिहीबार जिल्ला अदालत काठमाडौंले कप्तान सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरिएकाे मल्लले बताए । नेपाली क्रिकेट टिम केन्या भ्रमणमा जानु अघिल्लो रात ५ भदौमा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ ।
आईसीसीकाे पनि चासो
कप्तान लामिछानेमाथि लागेको बलात्कारको आरोपबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चासो देखाएको छ । ‘आईसीसीले के हुनसक्छ यो केसमा भनेर चासो राखेको छ’, आफूले सबै जानकारी दिएको भन्दै सचिव मल्लले भने, ‘रेप केसमा गएको भनेपछि उनीहरु सिरियस भएका छन् ।’
उनका अनुसार क्रिकेट संघ खेलाडीहरुको अभिभावक भएकाले सन्दीपको मागअनुसार कानुन व्यवसायी खोज्न सहजीकरण गर्नेछ । अपराध गरेको छ भने ढाकछोप र बचाउ नगर्ने क्यानको अडान रहेको भन्दै सचिव मल्लले भने, ‘अपराधी नै हो भने पनि कानुनी उपचार उसको अधिकार हो । क्यान अभिभावक भएकाले लयर खोज्न सहजीकरण गरिदिन्छ ।’
क्रिकेट संघका सचिव प्रशान्त विक्रम मल्लका अनुसार यो जाहेरीबारे सन्दीपसँग कुराकानी भएको थियो । उनले जाहेरी परेको थाहा पाएको, तर आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
उनका अनुसार नेपालमा लागेको अभियोगबारे सीपीएल टिमले पनि जानकारी पाएको र खेलका लागि अप्ठ्यारो नपर्ने बताएको छ ।
0 प्रतिकृया