Follow us:


Follow us

९ असोज २०७९, आइतवार
९ असोज २०७९, आइतवार


यस कारण फेरि ने.क.पा. (एमाले) लाई जनमत–२

एक्सन खबर
भदौ, ३१, २०७९




यस कारण फेरि ने.क.पा. (एमाले) लाई जनमत–२

उत्सव अधिकारी

यसअघिको श्रृंखलामा कहाँ कहाँ र कसरी ने.क.पा. (एमाले) चुक्यो र यसका नेता चुके भनी चर्चा गरियो । पाँच-छ वटा वस्तुगत बूँदाको आधारमा ती कुराहरु लेखिएका थिए । त्यसमा कोरा कल्पना र मनगढन्ते कुरा थिएनन् । सम्भवतः केन्द्रीय तहका नेताहरुको सोच प्रक्रियासँग नमिलेका पनि हुन सक्छन् ती भनाईहरु । तर आम कार्यकर्ता र ने.क.पा. (एमाले) लाई समर्थन गर्ने र सुभेच्छा राख्ने आम जनमानसको आवाजलाई उतार्ने प्रयास गरिएको थियो त्यस आलेखमा ।

सारांशमा त्यस बेलाको नेपाल कम्युनिष्ट पार्टी र सरकार ने.क.पा. (एमाले) को पहल र नेतृत्वमा बनेको हुँदा सफलता प्राप्त हुँदाको जस सँग-सँगै असफल हुँदाको अपजसको ठूलो हिस्सा पनि एमाले र एमालेका शिर्ष नेताले नै व्यहोर्नु पर्ने कुरा तार्किक कुरा हो, र त्यसैले शिर्ष तहको नेतृत्वबाट कुनै कदम चालिने छ जसबाट एमाले र यसका नेतृत्वप्रति अहिलेसम्म जनमानसमा विद्यमान रहेको समग्र नकारात्मक सोच र प्रतिकुल परिस्थितिलाई अनुकुलतामा परिवर्तन गर्न कारकको भूमिका खेल्ने छ भनी अपेक्षा समेत गरिएको थियो ।

त्यतिका कमी कमजोरी र बिभिन्न कारक तत्चहरुका कारण विग्रह देखापरे पनि ने.क.पा. (एमाले) समकालीन राजनीतिको प्रतिष्पर्धामा अन्य राजनीतिक दलहरुको तुलनामा अझ पनि आफूलाई शक्तिशाली राष्ट्रिय राजनीतिक दलका रुपमा आफ्नो पुरानो विरासतलाई कायम राख्न सफल रहेको र सबै दृष्टिले आफूलाई अरुभन्दा अब्बल र बिश्वसनीय पार्टीका रुपमा उभ्याउन सफल रहेको छ ।

एमाले राजनैतिक सिद्धान्तको अविचलित नेतृत्वकारी शक्ति


राजनीति भनेको राज्य सञ्चालन गर्ने मूल नीति हो । यो नीति कुनै न कुनै दर्शन, आदर्श र सिद्धान्तमा आधारित र निर्देशित हुन्छ, हुनु पर्छ । यदि त्यसो भएन भने देश बनाउँछु भनेर अघि सर्ने राजनीतिक दल आफै रणभुल्लमा पर्छ र त्यस्तो राजनीतिक दिशा अस्पष्ट भएको दल वा व्यक्तिले ढिलो चाँडो देश र जनतालाई अकल्पनीय खाल्डोको ढिकमा पुर्याउन सक्छ, जहाँबाट फछाडि फर्कन दुरुह हुन्छ ।

कमरेड पुष्पलालद्वारा प्रतिपादित नेपाली बामपन्थको दर्शन र सिद्धान्त तथा कमरेड मदन भण्डारीद्वारा सो दर्शनलाई पुनर्परिभाषित गरी प्रतिपादित जनताको बहुदलीय जनवादको नवीन आदर्श र सिद्धान्तलाई आत्मसात गरेर एमाले सधैं अविचलित रुपमा अघि बढिरहेको छ । साथै, कमरेड मनमोहन अधिकारी, स्व. जीवराज आश्रित, के.पी. ओली जस्ता पहिलो तहका नेताहरु र अहिले ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, विष्णु रिमाल, अष्टलक्ष्मी आदि दोस्रो तहका नेताहरु र लाखौंको संख्यामा रहेका अन्य नेता कार्कर्ताहरुको सोच र परिश्रमद्वारा अभिसिञ्चित यो राजनीतिक दल समयको प्रवाहसँगै अझ सबल, सक्षम, अनुभवद्वारा खारिँदै अझ समपुष्ट र योग्य बनिरहेको छ, आफ्नो राजनीतिक स्वच्छ स्वरुपलाई अझ परिपोषित पार्दै अगाडि बढिरहेको छ ।

सत्ता सञ्चालन गर्दा कहिँ कतै बिभिन्न कारणले समस्या देखियो होला, त्यसलाई नकार्न मिल्दैन । तर एमालेको शुद्धता, यसको मूल स्वरुप, यसको गतिशिलता र राष्ट्रिय राजनीतिमा यसको परिवर्तनकारी प्रभाव कसैबाट लुकेको छैन । यस यथार्थलाई विपक्षी दलहरुको बुझाईले झनै उजागर पारिदिएको छ ।

तात्कालीन ने.क.पा.मा विग्रह आएपछि र यसबाट सानो समुह चोइटिएर गए पनि ने.क.पा. (एमाले) मा कतै पनि विचलन र विश्रृंखलताको असर परेको देखिन्नँ । अनुभवबाट पाठ सिक्दै यो पार्टी अझ समृद्ध, शक्तिशाली, प्रभावशाली र देशको एक मात्र सामर्थ्यवान नेतृत्वकारी राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ ।

याे पनि हेराैं

फेरी नेकपा एमालेलाई किन जनमत ?


नेपाली कम्युनिष्ट आन्दोलनको स्थापित मूल प्रवाह


नेपालमा बामपन्थी आन्दोलन गर्ने धेरै कम्युनिष्ट पार्टीहरु छन् । वास्तवमा नेपाली कांग्रेस बाहेक सबै दलहरु यो वा त्यो रुपले या त कम्युनिष्ट पार्टी वा कम्युनिष्ट विचारधाराको पक्षधरता लिएर हिँडेका राजनीतिक पार्टीका रुपमा रहेका छन्, किनभने सिद्धान्ततः उनीहरु सबैले प्रगतिशिलताको कुरा गर्ने गर्दछन् । तर ती सबै राजनीतिक दलहरु कुनै न कुनै कारणले विभाजित छन्, अस्थिर छन् । क्रान्तिकारिताका नाममा विभाजित भएकाले प्रतिगामी तत्वहरुका लागि गन्न, आफ्नो कुरा भन्न र आफूतिर तान्न सजिलो भइदिएको छ । र, उनीहरु जानेर वा नजानेर राजनीतिक अस्थिरताका स्थायी कारक तत्व बन्न पुगेका छन् ।

जुनसुकै पनि सफल जनआन्दोलनले एउटा न एउटा राजनीतिक दललाई अग्रणी वा हिरो दलको रुपमा अगाडि प्रकट गर्ने गर्दछ । २००७ सालमा नेपाली कांग्रेस प्रकट भयो, २०४७ मा फेरि नेपाली कांग्रेस र त्यसपछि ने.क.पा. (एमाले) प्रकट भयो । २०६२/६३ मा ने.क.पा. (माओवादी) र त्यसपछि फोरम प्रकट भयो । यसबीच स-साना कम्युनिष्ट पार्टी एउटा-एउटा जिल्ला मात्र समातेर बसे । सबैभन्दा पछि आएको ने.क.पा. (माओवादी) पनि टुक्रा-टुक्रा भई छिन्न-भिन्न भयो यद्यपि, प्रचण्ड नेतृत्वको माओवादी पार्टी आफै नाम बदली बदली अस्तित्वमा रहेको छ । मधेशवादी फोरम पनि ज.स.पा., लो.स.पा. आदिमा बिभाजित भएको छ । ने.क.पा. (एमाले) ले पनि त्यो फुट केन्द्रीत राजनीतिको धक्काबाट अछुतो रहन सकेन । तर, माधव-झलनाथको समुह चोइटिएर गए पनि ने.क.पा. (एमाले) अझै सग्लो रुपमा र उत्तिकै सुदृढ रुपमा सतिसाल भएर खडा उभिएको छ ।

अहिले २०६२/६३ पछिको नेपाली राजनीतिलाई राम्रो गरी कसैले पर्गेल्ने हो भने यहाँ भइरहेको अस्थिरताको एउटा मात्र कारक तत्व भेट्ने छ-माओवादी पार्टी र त्यसका अध्यक्ष क. प्रचण्ड ।


नेपाली कांग्रेस त दर्शन, आदर्श र सिद्धान्तको दृष्टिले पनि ने.क.पा. (एमाले) को प्रमुख प्रतिद्वन्द्वी दल भैहाल्यो, त्यसैले एमाले खस्किएको, यसमा ह्रास आएको हेर्न चाहने भैहाल्यो । त्यसमा कुनै अस्वभाविकता छैन । तर यही पार्टीसँग र यही पार्टीभित्र रहेर नेतृत्व गरिसकेका नेताहरु छुट्टिएर जानु र गएपछि आफैले आफ्नो आदर्श, दर्शन र सिद्धान्तका आधारमा आफ्नो दललाई विस्तारित र सुदृढ गरेर प्रतिस्पर्धाको मैदानमा उत्रेर जनताबाट अनुमोदित हुने हिम्मत गर्नुको सट्टा यथास्थितिवादी र झण्डै-झण्डै प्रतिगामी बनिसकेको नेपाली कांग्रेसको शिविरमा आत्मसमर्पण गर्न जानु र अनि अर्काको दलीनमा बसेर एमालेलाई ललकार्नु भनेको ठूलो भनिएको राजनीतिक दलको अस्वभाविक काम हो । राजनीतिक दृष्टिले भन्ने हो भने यस्तो कार्य निर्लज्ज चरित्रको काम हो ।

अहिले २०६२/६३ पछिको नेपाली राजनीतिलाई राम्रो गरी कसैले पर्गेल्ने हो भने यहाँ भइरहेको अस्थिरताको एउटा मात्र कारक तत्व भेट्ने छ-माओवादी पार्टी र त्यसका अध्यक्ष क. प्रचण्ड । पछिल्लो जनान्दोलनका एक कमाण्डर भइसकेको राष्ट्रिय छवि बनाएका व्यक्ति यतिबिधि अस्थिर हुनु बिडम्बनापूर्ण छ । २०७२ सालमा पहिले एमालेसँग तालमेल गरी ओली सरकारको पछि लागे । त्यसपछि नेपाली कांग्रेससँग तालमेल गरी सुशील कोइरालाको पछि लागे । २०७४ सालको स्थानीय निर्वाचनअघिसम्म देउवा क्याम्पमा रहेका प्रचण्ड संघीय निर्वाचनमा फेरि एमालेका ओलीको पछि लागे । अध्यक्ष ओलीको नेतृत्वमा बलियो बामपन्थी सरकार निर्माण भयो तर, ठिक आधाआधी भएपछि पार्टीभित्र कचिंगल झिके । माधव-झलनाथ समुहलाई समेत साथ लिन सफल भई बिग्रह खडा गरे । फलतः ने.क.पा. विभाजित भई पुनः एमाले र माओवादी बन्ने अवस्था आयो । त्यसपछि प्रचण्डबाट जुन भूमिका निर्वाह भएको छ, त्यो व्यक्ति केन्द्रीत र स्वार्थ केन्द्रीत छ ।

२०६२/६३ को जनआन्दोलनबाट सबैभन्दा ठूलो बामपन्थी पार्टीका रुपमा उदाएको माओवादी र विशेषगरी त्यसका (आजीवन) अध्यक्ष क. प्रचण्डमा तिब्र राजनीतिक स्खलन देखिएको छ र एउटा कुशल नृत्यकारको भूमिकाबाट फेरि पनि देशको राजनीतिमा उनी अस्थिरताका स्थायी नायक बनेको पुष्टी भैरहेको छ । व्यक्तिका लागि यो कर्म ठिकै होला तर पार्टी, विचार र राष्ट्रका लागि घातक सिद्ध हुने छ । निर्वाचन आइरहेको सन्दर्भमा मतदान दिने कि नदिने भनी जनता स्वयम् सजग हुन पर्ने जरुरी छ ।  

यस परिदृश्यमा ने.क.पा. (एमाले) नै बामपन्थी कम्युनिष्ट विचारधाराको एक मात्र मूलप्रवाह शक्ति हो भन्ने पुष्टि हुन्छ । आफ्नो विचार र कार्यदिशालाई यसले कहिल्यै छाडेको छैन । बुझ्ने भाषामा भन्नु पर्दा यसले जात फाल्ने काम गरेको छैन, र यो जात फाल्ने र फेरि गौरव गर्ने प्रचण्ड प्रवृत्तिको विपक्ष र प्रतिवादमा दृढ्तासँग उभिएको छ । यसैको आधारमा जनताबाट जुनसुकै अवस्थामा पनि ने.क.पा. (एमाले) अपार स्नेहको हकदार बनिरहेको यथार्थ छ । त्यसैले एमाले नै त्यस्तो भरपर्दो प्रगतिशील राजनीतिक शक्ति हो जो आफ्नो दर्शन, आदर्श र सिद्धान्तलाई छातिमा र देश र जनतालाई शिरमा राखेर अविचलित रुपमा सँधै अग्रगामी पाइलाहरु अगाडि बढाएको छ ।

राष्ट्रिय आकांक्षालाई जनमानसमा पुर्याउन सक्ने सामर्थ्य भएको पार्टी

राजनीतिक दलले राम्रा र आदर्शका कुरा गर्ने गर्छन् । तर, उनीहरुको परीक्षण भनेको उनीहरु सत्त्तामा पुगेको बेला के गर्यो भन्नेबाट हुने गर्छ । मानी आएको प्रचलन यही हो । यस मामिलामा ने.क.पा.को नेतृत्व गर्दै ने.क.पा. (एमाले) ले आफ्नो अढाई वर्षको शासन कालमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारा तय गरी विकास, निर्माण र समृद्धीको अपूर्व अभियान शुरु गरेको थियो । कतिपय व्यक्तिहरु यसमा बिवाद गर्न चाहन्छन् । विकासमा बिवाद र बहस सँधै अपेक्षित नै हुन्छन् । तर ठण्डा मस्तिष्कले सोचियो र अलिकति गहिरिएर हेरियो भने तथ्य आफै स्पष्ट हुन्छ ।

-२०७२ सालको भूकम्पद्वारा क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणको कार्य २०७२ सालमा ओली सरकारले शुरु गरेको भए तापनि नेपाली कांग्रेसको सरकार छँदा केही अलमलमा परेको थियो । फेरि २०७४ सालको निर्वाचनपछि ने.क.पा. को ओली सरकारले यसलाई तिब्र गति दियो र अधिकांश कामहरु सम्पन्न गरी प्राधिकरणलाई नै विश्राम दिने काम गरियो । सांकेतिक रुपमा भन्नु पर्दा दरबार हाइ स्कूलको उद्घाटन, २०७७ कार्तिक ५ गते रानी पोखरी र २०७८ बैशाखमा धरहरा उद्घाटन र त्यसैगरी बसन्तपुर दरबार उद्घाटन केही उदाहरण हुन् ।

-देशको दूरदराजमा नदी तर्दा तुइनबाट तर्नुपर्ने र नागरिकको ज्यान जोखिममा पार्नु पर्ने आदिम परिस्थितिलाई ओली सरकारकै पालामा अन्त्य गरियो । यस्ता १३० वटा तुइनहरु विस्थापन गरिए भने यी लगायतका ठाउँहरुमा १,४२० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिए । गाउँ-गाउँलाई जोड्ने, सुगमता थप्ने र गाउँ-गाउँमा विकास पुर्याउँदै जीवनशैलीलाई सहजता प्रदान गर्ने दिशामा यी निर्माणहरुको ठूलो महत्व छ ।

-सडक यातायात सञ्जालको निर्माणमा राष्ट्रव्यापि ऊर्जा र अभियान थालनी गरिएको थियो । पूर्व पश्चिम राजमार्गलाई चौडा बनाउने तथा पहाडी क्षेत्रमा मदन भण्डारी लोकमार्ग र तराई-मधेश क्षेत्रमा हुलाकी मार्गलाई रणनीतिक महत्व र प्राथमिकताका साथ निर्माण कार्यलाई अगाडि बढाइयो ।

-सडक यातायातमा प्रत्येक दिन सरदर ५ कि.मी. का दरले कालोपत्रे सडक निर्माण भए। अढाई वर्षमा झण्डै ५,५०० कि.मी. कालोपत्रे सडक बने जो आफैमा एउटा अभूतपूर्व रेकर्ड हो, मानक हो । तराई मधेशमा मात्र १,६०० कि.मी. सडक निर्माण भए र हुलाकी सडक मुद्धमा परेका केही पुलहरु बाहेक अन्तिम चरणमा पुगे ।

-पहाड र विशेषगरी तराईका विपन्न तथा पिछडिएका जातजातिहरुलाई यथोचित बसोबासको व्यवस्था गर्नु राज्यको दायित्व हो भन्ने अवधारणाका साथ ओली सरकारले अढाई वर्षमा ७ हजार फुसका घरहरुलाई जस्तापाताको घरमा प्रतिस्थापन गरी मानवोचित बसोबासको व्यवस्था गर्यो, द्रुत गतिमा प्रत्येक दिन सरदर १२ वटाको रफ्तारमा ३४,५०० आवास भवन निर्माण गर्यो, जुन भौतिक रुपमा रेकर्ड थियो र त्यसभन्दा पनि श्रमजीवि जनताप्रतिको संकल्प पुरा गरेको कार्यगत अभिव्यक्ति पनि थियो ।

-२०७६ सालदेखि कोभिड-१९ को महामारीले बिश्वमा र नेपालमा पनि स्वास्थ्य संकट र आर्थिक संकट दुबै लिएर आयो । यी दुई संकटले ल्याएको चुनौतिलाई सामना गर्न शुरुमा केही अलमलमा पर्नु अस्वाभाविक थिएन । तर, जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी थालिएका बिविध पहल, निर्णय र तिव्र गतिको कार्यको फलस्वरुप बिस्तारै परिस्थिति नियन्त्रणमा ल्याउन सफल भएको थियो ।

-रेल यातायातको क्षेत्रमा जयनगर-बिजलपुरा खण्डमा रेल ब्रोडगेजमा चलिसकेको छ । पूर्व-पश्चिम राजमार्ग, काठमाडौं-वीरगञ्ज र केरुङ-काठमाडौं-पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन शुरु गरिएका थिए । त्यसैगरी कलकत्ता-शाहिबगञ्ज हुँदै सप्तकोशी पानीजहाजको अवधारणा पनि शुरु गरिएको थियो । यी आयोजनाहरु तत्कालै बनिहाल्ने वा कार्यान्वनमा गईहाल्नेभन्दा पनि दूरगामी र रणनीतिक महत्वका योजना हुन् र त्यसैले दिर्घकालीन आवधिक योजनामा राखी प्राथमिकताका साथ अगाडि बढाउनु पर्ने आयोजना हुन् । मूर्च्छित सपनालाई जागृत गराउने भनेको यहि हो ।

कतिपयका लागि अहिले ठट्टा पनि लाग्न सक्छ । तर, जति बेला मेलम्चीको पानी काठमाडौंमा ल्याएर बाटो सफा गर्छु भनी तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले भन्नुभएको थियो, त्यति बेला धेरै मानिस ठट्टा मानेर हाँसेकै थिए, केहीले मात्र ‘हो, यो सपना हो जसलाई नेपालको राजधानीका लागि एक दिन अवश्य पूरा गर्नुपर्छ र त्यस अभियानको थालनी आजदेखि भयो’ भनी बुझेका थिए, मस्तिष्कमा राखेका थिए । २०७७ साल फागुन २२ गते मेलम्चीको पानी बागमती र सुन्दरीजलमा मात्र होइन, काठमाडौंका धाराहरुमा पनि झरिसकेको छ, यो आजको यथार्थ हो ।

-संविधानलाई पूर्णतः कार्यान्वयनमा ल्याएको, ९० बढी कानूनहरु निर्माण गरिएको र धेरै विषमताका बावजूद सन्तोषजनक आर्थिक वृद्धिदर हासिल गरी अन्तर्राष्ट्रिय जगतले नै नेपाललाई ‘१० उदीयमान र उच्च आर्थिक वृद्धिको बाटो समातेका मुलुकहरुमध्ये एक मुलुक’को रुपमा अंकित गरेको जस्तो सम्मानजनक मूल्याङ्कन हासिल गर्न सफल भएको जसबाट समग्रमा सरकार, नीति, राजनीति र नेतृत्वको सफलता देखिएको ।

-अन्तर्राष्ट्रिय जगतमा विशेषगरी प्रधानमन्त्री के.पी. ओलीबाट खेलिएको भूमिकाका कारण नेपालको सार्वभौमसम्पन्न स्वाभिमानयुक्त छवि उज्यालिएको । त्यसअघि भएका र अहिले भएका सरकार प्रमुखको व्यक्तित्व, नेतृत्व र प्रस्तुतिसँग तुलना गर्दा गुणात्मक उचाईका दृष्टिले धेरै फरक, अग्लो र गौरवशाली देखिएको ।

-तराईमा लामाे समयदेखि डा. सिके राउतकाे नेतृत्वमा स्वतन्त्र मधेश राष्ट्र अभियान चलिरहेकाे थियाे । हिंसात्मक रूपमा भइरहेकाे याे अभियानले धेरै नेपाली प्रताडित भएकाे अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा २०७५ फागुन २४ गते ११ बुँदे सहमति गरी शान्तिपुर्ण राजनीतिमा अवतरण गराउनु पनि ठूलै विषय हाे ।

-सिके राउत जस्तै तत्कालिन ने.क.पा. माओवादीबाट फुटेर नेत्र विक्रम चन्द ‘विप्लव’ समुहले सशष्त्र जनयुद्ध चलाई रहेकाेमा केपी शर्मा ओलीकै तत्परतामा हतियार विसाएर २०७७ साल फागुन २० गते सरकारसँग ३ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आउनु अर्काे महत्वपूर्ण कदम हाे ।
क्रमसः













0 प्रतिकृया