शुक्रबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यकाे सिफारिस
एक्सन खबर
काठमाडाैं, ३१ भदाै । सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्काे बैठकले उक्त निर्णय गरेकाे हाे । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधनको प्रयास गरेको थियो । तर, सरकारले त्यसबारे आएको समाचार गलत भन्दै समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ती मन्त्रीले भने ।
सरकारले आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने निर्वाचन आयोगले आइतबार र सोमबारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ । सरकारले संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेसँगै संसद्मा २७ विधेयक निष्क्रिय हुने भएका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ विधेयक निष्क्रिय हुँदैछन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ ।
0 प्रतिकृया