नेपाल इन्जिनियरिङ कलेज किन विद्यार्थीको पहिलो रोजाईमा पर्दैछ ?
काठमाडौं, २ असोज । नेपाल इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ शिक्षा अध्ययनार्थ विद्यार्थीहरूको संख्या बढ्दो छ । कलेजले शैक्षिक सत्र २०२२ का लागि ब्याचलर तहमा आइतबार लिएको प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूले कलेजको एकेडेमिक वातावरण, पूर्णकालीन शिक्षक शिक्षिका तथा पर्याप्त प्रयोगात्मक शिक्षण विधि भएकैले भर्ना हुन चाहेको बताए ।
कलेजको प्रवेश परीक्षामा सहभागी भएका विद्यार्थीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजहरू मध्ये नेपाल इन्जिनियरिङ कलेज सबैभन्दा उत्कृष्ट रहेकाले रोजेको बताए । ‘यहाँ फूलटाइम टिचरहरू हुनुहुँदो रहेछ । शहरी क्षेत्रभन्दा बाहिर शान्त र हरियाली वातावरण रहेछ ।’ प्रवेश परीक्षामा आएका एक विद्यार्थीले भने । उनले कलेजको ल्याब, पुस्तकालय पनि अन्य कलेजहरूको दाँजोमा भव्य भएकाले पढ्ने वातावरण रहेको जिकिर गरे ।
यस्तै प्रवेश परीक्षामा सहभागी हुन आएका अर्का विद्यार्थीले पोखरा विश्वविद्यालयको सबैभन्दा राम्रो कलेज भएको बताए । कलेजमा पूर्णकालीन शिक्षक शिक्षिका रहनु नै महत्वपूर्ण विषय रहेको उनले भने । कतिपय कलेजहरूमा ‘हेलमेट टिचर’ तथा अनुभव र योग्यता नपुगेका शिक्षकहरू रहेकाले त्यहाँ शैक्षिक गुणस्तर नहुने ती विद्यार्थीको धारणा छ ।
कलेजले आइतबार लिएको प्रवेश परीक्षामा छोरी लिएर आएका भक्तपुर झौखेलका राममणि दाहालले कलेज राम्रो रहेको प्रतिक्रिया दिए । ‘पहिलो कुरा घर नजिकै छ, दोश्रो स्थानीय छात्रवृत्ति पाइन्छ । तेश्रो कलेजको शैक्षिक अवस्था राम्रो छ । शुल्क पनि अन्य कलेजहरूको दाँजोमा सर्वसुलभ छ । पढाईमा बाधा अवरोध छैन ।’ दाहालले भने ।
कलेजको नेपाल विद्यार्थी संघ इकाई समिति सभापति आशिष कैनीले शहरभन्दा टाढा स्वच्छ वातावरणमा कलेज रहेकाले पढ्ने वातावरण रहेको बताए । ‘कलेजमा फूलटाइम शिक्षक रहेकाले बिहान ७ देखि बेलुकी ४ बजेसम्म जुनसुकै बेला शिक्षकसँग भेट गर्न सकिन्छ शहरी क्षेत्रमा जस्तो विभिन्न कारणले पढाईमा अवरोध हुँदैन ।’ कैनीले भने ।
यस्तै कलेजको भौतिक पूर्वाधारसँगै शैक्षिक पूर्वाधार पनि राम्रो छ । पुस्तकालयमा सबै प्रकारका पुस्तकहरू छन् । इन्जिनियरिङ विधाका सबै प्रकारका अनुसन्धान र परीक्षण गर्नसक्ने व्यवस्थित ल्याब छ । पढाईकै सिलसिलामा फिल्ड रिसर्चमा विद्यार्थीले अतिरिक्त खर्च गर्नुपर्दैन, कलेज आफैँले खर्च ब्यहोर्ने गरेकाे छ ।
लमजुङबाट आएर कलेजमा अध्ययनरत सिभिल तेश्रो वर्षका विद्यार्थी नवीन नेपालीले सामुदायिक कलेज रहेकाले अन्य कलेजहरूको दाँजोमा शुल्क कम रहेको, ल्याबहरूको राम्रो व्यवस्था रहेको, शिक्षकहरू अनुभवी रहेको बताए । अर्का विद्यार्थी युवराज पोखरेलले नगरपालिकाले कलेज चलाइरहेको बताउँदै कलेजको लाइब्रेरीमा सबै प्रकारका पुस्तकहरू पाइने, शान्त तथा हरियाली वातावरण रहेकाले पढ्ने माहौल भएको तर्क गरे । साथै, उनले नेपाल इन्जिनियरिङ काउन्सिलले कलेजलाई स्थायी प्रमाणपत्र दिएकाले पनि यसको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नरहेको जिकिर गरे । यद्यपि, नगरपालिकाले कलेज चलाएकोले शुल्क केही कम भए कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहज हुने तर्क अगाडि सारे ।
अनुभवी पूर्णकालीन शिक्षक शिक्षिका, शान्त तथा हरियाली वातावरण, प्रयोगात्मक शिक्षण विधिका लागि भव्य ल्याब र पुस्तकालय, विश्वविद्यालयको छात्रवृत्तिसँगै कलेज आफैँले प्रदान गर्ने विभिन्न छात्रवृत्तिहरुका कारण नेक इन्जिनियरिङ शिक्षाको विधामा अग्रणी रहेको कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको भनाई छ । नेकको शैक्षिक गुणस्तरीयताका सवालमा कलेज आफैँले भन्दापनि विद्यार्थीले र विगतका शैक्षिक नतिजाले देखाउने उनको भनाई छ । उनका अनुसार यहाँबाट पास आउट भएका जनशक्ति अहिले नेपाल सरकारका विभिन्न निकायमा मात्र नभएर विश्वका धेरै प्रतिष्ठित स्थानमा पुगेर सफलता प्राप्त गरेका छन् ।
कलेजले युरोपका कतिपय उत्कृष्ट विश्वविद्यालय र कलेजहरुसँग पनि शिक्षा, अनुसन्धान र विद्यार्थी आदानप्रदानका विषयमा सहकार्य गरेकाले नेकमा अध्ययन गरेका विद्यार्थीहरुलाई विदेशमा छात्रबृत्ति सहित अध्ययनको अवसर पनि प्राप्त हुने कलेजका भाइस प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले बताए । यहाँबाट वर्षेनी धेरै विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा छात्रबृत्तिमा अध्ययन गर्न जाने अवसर पाउँछन् । ‘नेकको बैदेशिक विश्वविद्यालयहरुसँग सहकार्य छ, आठौं समेष्टरका हरेक विधाका विद्यार्थीहरुलाई एक्सचेञ्ज कार्यक्रम अन्तरगत छात्रबृत्तिमा पठाउने गरेका छौं ।’ भण्डारीले भने ।
कलेजमा वि.ई. सिभिल फर डिप्लोमा होल्डर्स, वि.ई. कम्प्युटर, वि.ई. एलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, वि.ई. इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, वि.ई. सिभिल एण्ड रुरल, वि.ई. सिभिल, वि. आर्टिटेक्चर विषयमा अध्ययन अध्यापन हुने गरेको कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराईले जानकारी दिए । उनका अनुसार कलेजमा पूर्णकालीन शिक्षक शिक्षिकाहरु रहेकाले विद्यार्थीले कलेज समयवाहेक बिहान बेलुकापनि शिक्षक शिक्षिकाहरुसँग पढाईका सन्दर्भमा छलफल गर्न सक्छन् । ‘हामीसँग १५ वर्षभन्दा बढी शिक्षण पेशामा अध्यापन गराइरहेका ११५ जना शिक्षकहरू छन्, विद्यार्थीहरूले आवश्यक पर्दा जतिबेला पनि सोधपुछ गर्न सक्छन् ।’ भट्टराई भन्छन् ।
पोखरा विश्वविद्यालयका स्कुल अफ इन्जिनियरिङमा प्राध्यापक पदमा कार्यरत डा. गाेविन्दप्रसाद लामिछानेले नेकको शैक्षिक वातावरण, शिक्षकहरू र अन्तराष्ट्रिय शैक्षिक सम्बन्ध अत्यन्त राम्रो रहेको बताए । विश्वविद्यालयको शैक्षिक उन्नयनमा समेत नेकको भूमिका रहेको बताउँदै एकेडेमिक एक्सिलेन्सीका सन्दर्भमा कलेज र विश्वविद्यालयसँग सहकार्य हुनुपर्ने समेत जनाए । पोखरा विश्वविद्यालयलाई पूर्वाधार निर्माण, पाठ्यक्रम निर्माणमा समेत सहकार्य गरेर नेकले विश्वविद्यालयकै शीर उच्च बनाएको जिकिर गरे ।
हाल कलेजमा स्नातक, स्नातकोत्तर तथा मास्टर्स तहका विभिन्न विषयहरुमा अध्ययन अध्यापन हुने गरेको छ । इन्जिनियरिङ विधा आफैंमा गहन अध्ययन र अनुसन्धान गर्नुपर्ने विधा भएकाले यस विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले कलेज छनौट गर्दा विशेष ध्यान दिन जरुरी छ । खासगरी कलेजको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय र रिसर्चका उपलब्धता, शिक्षक शिक्षिकाहरुको गुणस्तर र उपलब्धता सँगै वातावरण पनि बुझ्नु पर्ने देखिन्छ ।
0 प्रतिकृया