Follow us:


Follow us

२५ भदौ २०८३, बिहिवार
२५ भदौ २०८३, बिहिवार


टाक्सिडर्मीष्टहरुको १५ दिने तालिमको प्रारम्भ

एक्सन खबर
असोज, ३१, २०७९


टाक्सिडर्मीष्टहरुको १५ दिने तालिमको प्रारम्भ

काठमाडौं, ३० असोज । मरेका जीवहरूको छाला तथा भुवा प्रयोग गरी उनीहरूको प्राकृतिक बास स्थानको प्रतिलिपि बनाई ती बासस्थानमा ती जीवहरूलाई जीवित जस्तै बनाई प्रदर्शनीको लागि सयौं वर्षसम्म नकुहिने नबिग्रने गरी सजाउने कला अर्थात टाक्सिडर्मीको तालिम प्रारम्भ भएको छ ।

नेपालमै पहिलो पटक राजधानीमा आइतबारदेखि नेपाल इन्जिनियरिङ कलेज (नेक) र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा १५ दिने पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो ।

त्रिभुवन विश्वविद्यालय अन्तरगतको प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक डा. गणेशबहादुर थापाले तालिमको उदघाटन सत्रको अध्यक्षता गरेका थिए । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुसालले पेशागत टाक्सिडर्मी तालिमको उदघाटन गरे ।   

राणाकाल तथा पञ्चालयत कालमा नेपालका कयौं दरबारका भित्ता तथा सभाकक्षहरू टाक्सिडर्मी गरिएका जीवजन्तुहरूबाट सजाइएका हुन्थे भने अहिले टाक्सिडर्मीको मूल उद्देष्य सामान्यदेखि दुर्लभ जीवहरूको नक्साङ्कन गरी सजाउने, सामान्यतया हिंसक जीवहरूको नजिकबाट अध्ययन गर्न मिल्ने वातावरण बनाउने र लोप हुन लागेका जीवहरूको प्रतिमूर्ति बनाई वर्तमान तथा भावी पुस्ताहरूले अवलोकन गर्न मिल्ने गरी राख्नु रहेको छ ।

विदेशमा टाक्सिडर्मीहरुको महत्व अत्यन्त रहेपनि नेपालको सन्दर्भमा बुझाउन सकिएको छैन । खासगरी सरोकारवाला सरकारी निकायको ध्यान नपुग्दा कतिपय लोपोन्मुख जीव जनावरको अस्तित्व शरीर नष्ट हुँदै गएको र पेशागत व्यवसायीकता नहुँदा टाक्सिडर्मीपनि नेपालबाट विस्तारै पलायन भइरहेको बताइएको छ ।

अहिले नेपालमा तालिम प्राप्त पेशागत टाक्सिडर्मीस्टहरूको संख्या मात्र दुईतीन जना रहेको तालिममा जानकारी दिइयो । सरकारी निकायबाट खासै टाक्सिडर्मीहरुको उत्पादन र उनीहरुको व्यवसायिकताको लागि ठोस काम नभएता पनि निजी क्षेत्रबाट पहल भएको छ ।

नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक डा. नारायणप्रसाद कोजु जर्मनका विख्यात् टाक्सिडर्मीस्ट मार्को फिसरसँगको सम्पर्क र सहकार्यमा नेपालमै पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो ।

जर्मन टाक्सिडर्मीस्ट मार्को फिसर नेपाल आएको अवसरलाई सदुपयोग गरी नेक र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको नेकका उपप्राध्यापक डा. कोजुले जानकारी दिए ।

तालिम कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज, त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालय, केन्द्रीय वातावरण विभाग, केन्द्रिय जीव विज्ञान विभाग, त्रिचन्द्र कलेज, वनविज्ञान अध्ययन संस्थान, ललितकला क्याम्पस, शिवपुरी राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सदर चिडियाखाना, लुम्विनी बौद्ध विश्वविद्यालय, अस्कल कलेज तथा गोल्डेनगेट इन्टरनासनल कलेज गरीनेपालका १३ वटा संस्थाका कर्मचारीहरूले भाग लिएका छन् । तालिमबाट दिक्षित व्यक्तिहरूले पेशागत रूपमा सफलता हासिल गरी नेपालमा टाक्सिडर्मी पेशाको पुनरुत्थान गर्ने अपेक्षा लिइएको छ ।

उदघाटन सत्रमा त्रिवि विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा.डा. विनित अर्याल, जीव विज्ञान विभागका प्रमुख प्रा.डा. तेजबहादुर थापा तथा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले टाक्सिडर्मीको महत्वबारे बोलेका थिए । कार्यक्रम सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक डा. कोजुले गरेका थिए ।

















0 प्रतिकृया