नेकको प्रादेशिक छात्रवृत्ति प्रवेश परीक्षामा विद्यार्थीको घुईंचो
एक्सन खबर
काठमाडौं, २४ मंसिर । नेपाल इन्जिनियरिङ कलेजले सातै प्रदेशका लागि छुट्याएको छात्रवृत्ति कोटामा अध्ययन गर्न विद्यार्थीहरुको घुईंचो लागेको छ । स्नातक तह अध्ययनका लागि कलेजले प्रदेश छात्रवृत्ति अन्तरगत लिएको प्रवेश परीक्षामा १२४ जना विद्यार्थी सहभागी भएका छन् ।
कलेजले सात वटा प्रदेशका लागि सात वटा सिटमा प्रवेश परीक्षा लिएको थियो । सामाजिक शैक्षिक संस्थाका रुपमा दर्ता भई सञ्चालित यस कलेजले प्रादेशिक छात्रवृत्तिसँगै स्थानीय चाँगु नारायण नगरपालिकाका निम्ति पनि छात्रवृत्ति छुट्याएको छ ।
साथै, प्रवेश परीक्षाका उत्कृष्ट हुने, सेमेष्टरमा उत्कृष्ट हुनेलाई पनि विभिन्न छात्रवृत्तिहरु प्रदान गर्ने गरेको कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए । ‘हामी कहाँ अन्य कलेजहरुको दाँजोमा बढी नै छात्रवृत्तिहरु छन्, जेहेन्दार, मेहनती विद्यार्थीहरुले त्यस्ता छात्रवृत्ति पाएर अध्ययन पुरा गर्न सक्छन् ।’ डा. श्रेष्ठले भने ।
कलेजले हरेक वर्ष लिने इन्ट्रास परीक्षामा सहभागी हुने विद्यार्थीहरुको संख्या पनि बढ्दो छ । पोखरा विश्वविद्यालय अन्तरगत सम्बन्धन लिएका कलेजहरु मध्येकै उत्कृष्ट कलेजका रुपमा रहेको यस कलेजमा अध्ययन गर्नका लागि प्रत्येक वर्ष देशैभरबाट हज्जारौं विद्यार्थी आउने गरेका छन् ।
प्रयोगात्मक शिक्षण विधि, सुविधासम्पन्न ल्याब, व्यवस्थित पुस्तकालय, फुल टाइमर प्राध्यापक, शहरको कोलाहल र भिडभाड भन्दा टाढा शान्त र हरियाली वातावरणमा अवस्थित यस कलेजमा इन्जिनियरिङ विधाका स्नातक र मास्टर्स सम्मको पढाई हुने गरेको छ ।
कलेजले विद्यार्थीको पढाईलाई अन्तराष्ट्रिय स्तरको बनाउन विश्वका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुसँग विद्यार्थी आदान प्रदान, रिसर्च तथा अध्ययन गर्ने सवालमा सहकार्य गरेको छ । कलेजमा अध्ययनरत धेरै विद्यार्थीहरुले युरोप, अष्ट्रेलिया लगायतका कलेजहरुबाट पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने मौका समेत पाइरहेकाले दिन प्रतिदिन विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।
0 प्रतिकृया