माओवादी बिनै सरकार बनाउने देउवाको चाल: रिजाल
एक्सन खबर
काठमाडौं, २६ मंसिर । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र बिनै सरकार बनाउन लागेको नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै रिजालले प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको बताएका छन् ।
सरकारले रेशम चौधरीसहितका राजनीतिक दलका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने उद्देश्यले अध्यादेश ल्याउने निर्णय गरे पछि चौतर्फी विरोध सुरु भएको छ । नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनीहरुका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने निर्णय गर्नुलाई एमालेलगायतका दलले विरोध जनाएका छन्।
‘माओवादी बिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवावमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’ रिजालले लेखेका छन् ।
यस्तै उनले इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर–जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ’सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लागेको पनि उल्लेख गरेका छन् ।
0 प्रतिकृया