तीन महिनाभित्र इन्जिनियरहरुको लाइसेन्स परीक्षा लिने काउन्सिलको तयारी
एक्सन खबर
काठमाडौं, १ पुष । आउँदो ३ महिना भित्र इन्जिनियरिङ लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । इन्जिनियरिङ कलेजहरुको नियमन, अनुगमन गर्ने निकाय नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झाले काउन्सिलले ३ महिना भित्र इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने तयारी गरिरहेको बताए ।
नेपाल इन्जिनियरिङ कलेजको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एण्ड साइन्स एण्ड ह्युमानिटिले आज शुक्रबार गरेको विदाई कार्यक्रममा बोल्दै डा. झाले परीक्षाको मिति निश्चित नभएपनि वढीमा तीन महिनाभित्र इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने बताए ।
सय पूर्णांकको परीक्षामा उत्तीर्ण हुन ५० प्रतिशत अंक ल्याउनु पर्ने बताउँदै डा. झाले सामान्य प्रकारको परीक्षा हुने भएकाले विद्यार्थीहरु सहजै पास हुन सक्ने बताए । ‘काउन्सिलले लिने परीक्षा झनै कठिन होला, तयारी कक्षा लिनुपर्छ भन्ने नठान्नुस । एउटा प्रश्नको चारवटा उत्तर राखिएको हुन्छ त्यसबाट सहि उत्तर खोज्नुस यो प्रतिप्रश्न एकएक नम्वरका ६० वटा हुन्छन् । प्रति उत्तर दुईदुई नम्वरको २० वटा प्रश्न हुन्छन् ।’ झाले भने ।
प्रश्नमा अनुमानको आधारमा टिक लगाउँंदा धेरै प्रश्नहरुको उत्तर मिल्ने भन्दै झाले यो लाइसेन्स परीक्षाले नक्कली इन्जिनियरहरु रोक्न ठूलो टेवा दिने पनि बताए । काउन्सिलले लाइसेन्स परीक्षा लिन थालेसँगै सरकारी तथा नीजि संघ संस्थाहरुले काउन्सिलको प्रमाणपत्र माग्ने भएकाले इन्जिनियरिङ गर्ने वित्तिकै काउन्सिलको परीक्षा दिनैपर्ने जिकीर गरे । ‘अब लोक सेवामा प्रतिष्पर्धा गर्दापनि काउन्सिलको प्रमाणपत्र बुझाउनु पर्छ, विदेश अध्ययन गर्न जानेहरुले पनि परीक्षा पास गर्नै पर्छ नत्र नो अब्जेक्सन लेटर पनि उपलब्ध हुँदैन ।’ झाले विद्यार्थीहरुलाई संवोधन गर्दै भने । नेपालमै काउन्सिलको लाइसेन्स लिएर उच्च शिक्षाका लागि विदेश जाँदा विदेशमा पुनः लाइसेन्स परीक्षा दिन नपर्ने अथवा दिएपनि सामान्य तवरले दिए पुग्ने उनको भनाई छ ।
इन्जिनियरिङ अध्ययन गरेर मात्र काम गर्न नपाइने यदी त्यस्तो पाइए वा कसैले उजुरी गरिदिए कारवाहीको दायरामा आउनु पर्ने झाले जनाए ।
कार्यक्रममा नेकका भाइस प्रिन्सिपल एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले ४, ५ वर्ष लगाएर विद्यार्थीले हासिल गरेको ज्ञान र सीपको परीक्षण गर्ने बेला आएको बताउँदै कलेजको नाम राख्ने गरी काम गर्न सुझाब दिए । इन्जिनियरिङ पेशामा अवसर र चुनौती दुवै भएको बताउँदै व्यवसायीक रुपमा सफल हुन कडा मेहनत गर्नुपर्ने बताए ।
कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भटराईले बजारमा प्रतिष्पर्धामा आफुलाई उभ्याउन नसके इन्र्टन गरेकाहरुले पछि अफ्टेरोमा पार्न सक्ने भएकाले त्यसका लागिपनि कडा मेहनत गर्नुपर्ने सल्लाह दिए । साथै, प्रतिष्पर्धा गर्न नडराउन सुझाए ।
कार्यक्रममा एसोसिएट प्रोफेसरहरु सचिन श्रेष्ठ, रवीन्द्रकुमार बुढाथोकी, अजय खड्कालगायतले कलेजबाट उच्च शिक्षा हासिल गरेर बजारमा गएका विद्यार्थीले राम्रो काम गर्दा कलेजको गौरब बढ्ने बताउँदै विद्यार्थीको सफलता नै कलेजको सफलता रहेको उल्लेख गरे ।
कार्यक्रममा तीन वटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई विदाई गरिएको थियो । सो अवसरमा विधागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
0 प्रतिकृया