नेकबाट २०१७ ब्याचका विद्यार्थीको विदाई
एक्सन खबर
काठमाडौं, १ पुष । नेपाल इन्जिनियरिङ कलेजले २०१७ ब्याचका तीन विषयगत विद्यार्थीहरुको विदाई गरेको छ । आज आयोजित विदाई समारोहमा कलेजमा २०१७ ब्याचका स्नातक उत्तिर्ण विद्यार्थीहरुलाई विदाई गरिएको हो । कलेजले कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इलक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २०१७ ब्याचका विद्यार्थीहरुको विदाई गरेको हो ।
नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झा, कलेजका भाइस प्रिन्सिपल दुर्गा प्रसाद भण्डारी, एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराई, विभागीय प्रमुख लगायतले विद्यार्थीहरुलाई खदा, अबिर र मायाको चिनो सहित विदाई गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी काउन्सिलका सदस्य डा. झाले इन्जिनियरिङ अध्ययन पुरा गरेपनि काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी काम गर्न नपाईने बताए । काउन्सिलले आगामी ३ महिनाभित्रै लाइसेन्स परीक्षा सञ्चालन गर्ने जानकारी दिँदै उनले सरकारी, निजी क्षेत्रमा काम गर्न, विदेश जानका लागि पनि काउन्सिलको परीक्षा पास गरेको हुनैपर्ने बताए ।
सदस्य झाले काउन्सिलले लिने परीक्षा बाहिर हल्ला गरे जस्तो कठोर नहुने जनाउँदै एउटा प्रश्नमा चार वटा उत्तर हुने र एउटा सही उत्तरमा मात्र टिक लगाउनु पर्ने बताए । ‘हामीले एक्सपर्टहरुलाई बेसिक प्रश्नहरुको आधारमा प्रश्नहरु बनाउनुस भनेका छौं ।’ झाले भने ।
झाले काउन्सिलले यो वर्ष २ देखि ३ वटा लाइसेन्स परीक्षा सञ्चालन गर्ने तयारी गरेको उल्लेख गर्दै त्यसपछि प्रत्येक महिना परीक्षा सञ्चालन गर्ने सोच बनाएको जनाए । ऐनमा कम्तीमा वर्ष २ पटक परीक्षा लिनैपर्ने व्यवस्था भएको जनाउँदै काउन्सिलको भवन निर्माण पुरा भएपछि मासिक रुपमा परीक्षा सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ ।
कलेजका भाइस प्रिन्सिपल दुर्गा प्रसाद भट्टराईले विद्यार्थीले ४ वर्ष कलेजमा सिकेका विषयलाई फिल्डमा गएर प्रयोग गर्न बाँकी रहेको चर्चा गर्दै व्यवसायीक जीवनमा हासिल गरेको सफलता नै कलेजको सफलता रहेको बताए । एकेडेमिक कोअर्डिनेटर बाबुराम भट्टराईले कलेजको नाम राख्ने गरी, आमाबुबा र आफैंलाई खुसी राख्ने गरी काम गर्न विद्यार्थीहरुलाई सुझाए ।
विदाई कार्यक्रममा विद्यार्थीहरुले नेकको शिक्षण विधि, शिक्षकहरुको भूमिका र कलेज व्यवस्थापनको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कलेजले आफुहरुलाई इन्जिनियरिङको डिग्रीसँगै व्यक्तित्व विकासका लागि पनि सहयोग पुर्याएको विद्यार्थीहरुले बताए ।
विद्यार्थीहरुले कलेजबाट विदाई हुँदै गर्दा कलेजको गौरब बचाउन जिम्मेवारी थपिएको बताउँदै कलेजको शीर उच्च राख्ने गरी काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सो अवसरमा विधागत रुपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । भने, प्रोगाम टपर समेत दिइएको थियो । कलेजले हिजो शुक्रबार आर्किटेक्चर र सिभिल इन्जिनियरिङ २०१७ ब्याचका विद्यार्थीहरुको विदाई गरेको थियो ।
0 प्रतिकृया