एमाले संसदीय दलकाे नेतामा ओली सर्वसम्मत
एक्सन खबर
काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न भएको आम निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप लगाएका छन् । जनताको सार्वभौम अधिकारको हनन गरेर आफ्नो पार्टीको हातबाट विजयी खोसिएको पनि बताए ।
आज एमालेले आयोजना गरेको विशेष सम्मान कार्यक्रममा बोल्दै ओलीले थुप्रै ठाउँमा धाँधली भएको र चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष नदेखिएको जिकिर गरे । ‘यस चुनावमा हाम्रो विजय खोसिएको छ । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो ।’ ओलीले भने । उनले निर्भयपूर्ण वातावरणमा जनताले प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसिएकाे भन्दै यो जनताको सार्वभौमसत्तामाथिको प्रहार, लोकतन्त्र र संविधानमाथिको प्रहार भएकाे पनि बताए ।
ओलीले बुथ क्याप्चर भएका प्रमाणहरू रहेकाे जनाउँदै दोहोर्याएर निर्वाचन नगरिएकाे पनि दावी गरे । ‘९९ प्रतिशत भोट खस्नु, मरेका मान्छेले भोट हाल्नु, विदेश भएकाले भोट हाल्नु जस्ता कुराहरू भए । देख्नुपर्ने ठाउँबाट ती देखिएनन्,’ ओलीले भने ।
पार्टीले अपेक्षाकृत सीट नल्याए पनि समानुपातिकमा पहिलाे दल बनेकाे भन्दै आफूहरूले उत्सव मनाइरहेको उनकाे भनाइ छ । ‘हामी उल्लासमय वातावरणमा छौं । चुनावअघि हामीलाई धुलो चटाउने, दिउँसै टर्च बालेर खोज्नुपर्ने कुराहरू भएका थिए । तर, एमालेलाई खोज्न टर्च बाल्न पर्दैन । एमालेको आवाज र गतिविधि जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’ उनले भने ।
संसदीय दलकाे नेतामा ओली सर्वसम्मत
एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएका हुन् ।
कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा मतदातालाई धन्यवाद पनि दिएकाे छ । बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।
‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा अध्यक्ष ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई बधाई दिएका थिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेशसभामा १६१ जना सदस्य निर्वाचित भएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेशसभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रियसभाका बहालवाला सदस्यहरू, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरूकाे सहभागिता रहेकाे थियाे ।
यस्तै, प्रदेश कमिटीका अध्यक्षहरू, जनसङ्गठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसङ्गठनका थप तीन जना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूकाे सहभागिता रहेकाे थियाे ।
0 प्रतिकृया