भावी सन्तति र पार्टीको भविष्य सम्झेर युगानुकुल निर्णय गर्न थापाकाे अनुराेध
एक्सन खबर
काठमाडाैं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलकाे निर्वाचनमा सांसदहरूलाई विवेकसम्मत निर्णय गर्न भनेका छन् । संघीय संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेता चयनका लागि अहिले हुन गइरहेकाे मतदान अगाडी अपिल सार्वजनिक गर्दै उम्मेदवार थापाले कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने समेत भएकाले सांसदहरूलाई विवेक सम्मत निर्णय गर्न अपिल गरेका हुन् ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा भएकाे जिकीर गरेका छन् ।
साथै, उनले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गर्न सांसदहरूलाई अनुराेध गरेका छन् ।
हेर्नुहोस अपिल
आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ ।
भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको लागि नेपाली कांग्रेसका आदरणीय अग्रज नेताहरू तथा माननीय सांसदज्यूहरूलाई विवेकसम्मत निर्णय गर्न म हार्दिक अपिल गर्दछु ।
वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा हो भन्ने कुरामा बिश्वस्त छु। सरकारको नेतृत्व, सोच, नीति, कार्यक्रम र कार्यशैली परिवर्तनका पक्षमा नेपाली जनताले दिएको जनादेशको पूर्ण सम्मान गर्दछु ।
तीन-तीन वटा जनआन्दोलनको नेतृत्व गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली कांग्रेस जस्तो क्रान्तिकारी, ऐतिहासिक र लोकतान्त्रिक पार्टीको संसदीय दलको नेताका रुपमा मलाई प्रस्ताव गर्नु भएकोमा आदरणीय अग्रज नेताहरू र सांसद साथीहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । तपाईंहरूको यो विश्वासले मलाई देश र जनताको पक्षमा काम गर्न थप उर्जा र प्रेरणा मिलेको छ । मैले तपाईंहरूको यो विश्वास कहिल्यै डगमगाउन नदिने प्रण गर्दछु ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्नु भएका अग्रज नेताहरुको उच्च सम्मान गर्दै याहाहरुवाट मार्गनिर्देनको अपेक्षा गर्दछु । पार्टीका श्रद्धेय नेताहरू तथा सम्पूर्ण माननीय सांसदज्यूहरूले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर छातीमा हात राखि युगानुकुल निर्णय गरी संसदीय दलको नेतामा मलाई मतदान गर्नुहुन विनम्रतापूर्वक अनुरोध गर्दछु ।
धन्यवाद
जय नेपाल
गगन थापा
उम्मेदवार, संसदीय दलको नेता
0 प्रतिकृया