सांसदहरुको शपथः मातृभाषाहरुमा शपथ लिनेहरू कति ?
एक्सन खबर
काठमाडौं, ७ पुस । आज नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने कार्यक्रम छ ।
जबरालाई बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ खुवाएकी थिइन् । संघीय संसद सचिवालयका अनुसार शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान गर्ने र उनीहरुको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिने छ ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार अधिकांश सांसदहरुले नेपाली भाषामा शपथ ग्रहण गर्नेछन् । २६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् । नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ । बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएकाेमा उनीहरूले हिन्दीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको भनेका छन् ।
सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय स्वतन्त्र पार्टीका ५, जनमत पार्टीका ४, जसपा, नागरिक उन्मुक्ति पार्टीका ३/३, स्वतन्त्र २ र कांग्रेस तथा नेकपा एमालेका एक/एक सांसदहरुले मातृभाषामा शपथ ग्रहण गर्ने भनेर निवेदन दिएका छन् ।
नेकपा एमालेका राज अहमद फारुकीले उर्दु, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, मिना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन निवेदन दिएका छन् । यस्तै माओवादी केन्द्रका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिन निवेदन दिएका छन् ।
यस्तै, रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाली/मुस्लिम भाषामा शपथ लिन निवेदन दिएका छन् । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिने भनेका छन् ।
थारु भाषामा शपथ लिन राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारु, स्वतन्त्र सांसद लालवीर चौधरीले थारु भाषामा शपथ लिनेछन् । जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त (सीके) राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिनेछन् ।
सांसदहरुको शपथ ग्रहण अगाडि दिउँसो १२ बजे ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुखको निर्वाचन नभएसम्म संसद बैठकको कामकारबाही ज्येष्ठ सदस्यबाटै सञ्चालन हुनेछ ।
नेकपा एमालेले भने आफ्ना सबै सांसदलाई राष्ट्रिय पोशाकमा शपथग्रहण गर्न निर्देशन दिएको छ । शपथमा आउँदा राष्ट्रिय पोशाक वा आफ्नो संस्कृति झल्किने पोशाकमा आउन संसद सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ ।
0 प्रतिकृया