वीपी प्रतिष्ठानमा सर्जिकल इन्डोस्कोपी सम्मेलन सम्पन्न
एक्सन खबर
सुनसरी, ७ पुस । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने इन्डोसार्क सम्मेलन सम्पन्न भएको छ । प्रतिष्ठानको ग्याष्ट्रोइन्ट्ररलोजी, ग्याष्ट्रोसर्जरी र जनरल सर्जरी गरि ३ वटा विभागहरुको संयुक्त आयोजनामा पौष २ र ३ गते दुई दिने इन्डोसार्क सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रममा सर्जिकल इन्डोस्कोपीको चुनौतीहरु सम्बन्धमा वृहत छलफल भएको थियो । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, वंगलादेश र श्रीलंकाबाट ग्याष्ट्रो इन्टरलोजी, ग्याष्ट्रो सर्जरी र जनरल सर्जरीका २०० चिकित्सकहरु सहभागी भएका प्रतिष्ठानका सह–प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए ।
सम्मेलनको उद्घाटन आयोजक समितिका अध्यक्ष प्रा.डा.शैलेस अधिकारी, प्रा.डा.राकेश कुमार गुप्ता, प्रा.डा.रमेश सिंह भण्डारी, प्रा.डा.सत्येमप्रिया डे सरकार, डा.पलेशमान जोशी लाखे र डा.सुरेश प्रसाद साहले संयुक्त रुपमा गरेका थिए ।
सम्मेलनमा आमासय, आन्द्रा, कलेजो, पित्तथैली, पित्तथैलीको नली, प्यांक्रियाज, मलद्धारमा हुने विभिन्न रोगहरुको पहिचान र उपचारबारे वृहत रुपमा चिकित्सक तथा विद्यार्र्थीहरु बीच छलफल भएको थियो । यस्तै, उपचारको क्रममा हुने जटिलताहरुलाई दुरविन प्रविधिबाट कसरी हल गर्न सकिन्छ भनेर पनि छलफल गरिएको थियो ।
विश्वमा आएको नयॉ दुरविन प्रविधिबाट भइरहेको उपचार सम्बन्धमा पनि कार्यक्रममा छलफल भएको डा.अधिकारीले बताए । साथै, सम्मेलनमा विश्वमा नयॉ नयॉ प्रविधि र उपचार पद्दती कसरी भइरहेको बारे एकअर्का बीच ज्ञान, अनुभव साझा गरिएको थियो ।
कार्यक्रममा चिकित्सकहरुले अनुसन्धान(पत्र पनि प्रस्तुत गरेका थिए । यसबाट सहभागी चिकित्सक, विद्यार्र्थीहरुलाई आफ्नो कार्यक्षेत्रमा फाइदा पुगेको आयोजक समितिका सचिव डा.कुनाल बिक्रम देवले जानकारी गराएका थिए । यो कार्यक्रममा सहभागीता जनाउने चिकित्सकहरुलाई नेपाल मेडिकल काउन्सिलबाट १० सिपिडी पोइन्ट प्राप्त हुनेछ ।
0 प्रतिकृया