संसद भवन छिर्दै भगबतीले भनिन्–‘अब जनताका लागि काम गर्ने हो’
एक्सन खबर
काठमाडौं, ७ पुस । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी नेकपा एमालेकी सांसद भगबती चौधरीले विगतमा न्यायालयले आफुलाई न्याय नदिएतापनि मंसिर ४ गतेको निर्वाचनबाट जनताले न्याय दिएको बताएकी छन् ।
सांसदको सपथ ग्रहण गर्न नयाँ संसद् भवन प्रवेश गर्दै चौधरीले विगतका २ वटा निर्वाचनमा भोगेको अन्याय विरुद्ध न्यायालय गएपनि न्याय नपाएको स्मरण गर्दै यो पटक जनताले न्याय दिएको बताइन् ।
‘यो पटक जनताले मलाई न्याय दिनुभयो । अब जनताकै लागि काम गर्छु ।’ संसद भवनमा प्रवेश गर्दैगर्दा चौधरीले भनिन् । नेकपा एमालेकी केन्द्रीय सदस्य चौधरीले कांग्रेसका प्रभावशाली नेता बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले पराजित गर्दै संसदमा प्रवेश गरेकी हुन् ।
२०७० र ०७४ को चुनावमा गच्छदारले धाँधली र बुथ कब्जा गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेपनि त्यसको फैसला अहिलेसम्म भएको छैन ।
उनले ३१ वर्षदेखि लगातार राज्य सत्तामा रहेका गच्छदारलाई पराजित गर्न निक्कै चुनौति सामना गरेको पनि बताइन् । ‘धेरै, धेरै चुनौतीहरु सामना गरें । योपटक जनताले मलाई पुरा साथ दिनुभएकोले सफल भए ।’ चौधरीले भनिन् ।
0 प्रतिकृया