Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


नेपाल इन्जिनियरिङ कलेजमा नयाँ शैक्षिक सत्रकाे पढाई सुरु

एक्सन खबर
पौष, १०, २०७९


नेपाल इन्जिनियरिङ कलेजमा नयाँ शैक्षिक सत्रकाे पढाई सुरु

काठमाडौं, १० पुस । सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित नेपाल इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०२२ मा कक्षा सुरु भएको छ । चाँगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित कलेजमा स्नातक तह २०२२ का लागि भर्ना भएका विद्यार्थीहरुको पढाई सुरु भएको हो ।

नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा शैक्षिक अभिमुखीकरण कार्यक्रम गर्दै कलेजले भोलीबाट विधिवत रुपमा कक्षा सञ्चालन हुने जानकारी दिएको छ । देशभरका इन्जिनियरिङ कलेजमा पर्याप्त विद्यार्थी भर्ना नहुँदा शैक्षिक कार्यक्रम नै प्रभावित भइरहेको अवस्थामा नेकमा चाँही विद्यार्थी समयमै भर्ना भएपछि शैक्षिक सत्र सुरु भएको हो ।

पोखरा विश्वविद्यालयले समेत पुस २५ गतेदेखि मात्रै कक्षा सञ्चालन गर्ने तयारी गरेकोमा नेकले भने विद्यार्थी भर्ना भइसकेकाले त्यस अगाडी नै कक्षा सुरु गरेको कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराईले बताए । ‘विश्वविद्यालयले पुस २५ गतेदेखि कक्षा सञ्चालन गर्ने तालिका बनाएको छ । हामी कहाँ नयाँ शैक्षिक सत्रका लागि धेरै विद्यार्थीहरु भर्ना भइसकेकाले विश्वविद्यालयसँग समन्वय गरेर नै त्यस अगाडी नै कक्षा सञ्चालन गर्ने निर्णय गरेका हौं ।’ एकेडेमिक कोअर्डिनेटर भट्टराईले भने ।

कलेजमा सिभिल र आर्किटेक्ट इन्जिनियरिङमा विद्यार्थी कोटा पुरा भएको छ । अन्य विषयमा पनि विद्यार्थीहरु धमाधम भर्ना भइरहेकाले केही दिनमा कोटा पुरा हुने कलेजको अपेक्षा छ । भट्टराईका अनुसार कलेज प्रति दिनानुदिन विद्यार्थीको आकर्षण बढेकाले विद्यार्थी पाउन सकस छैन । ‘अन्यत्र विद्यार्थीहरु भर्ना नहुँनाले बैशाखदेखि मात्र कक्षा सञ्चालन गर्ने कुरा छ, हामी कहाँ चैं सिभिल र आर्किटेक्टमा कोटा पुरा भइसकेको छ, बाँकी विषयमा धमाधम विद्यार्थीहरु भर्ना भईरहेकाले भोलीबाट कक्षा सञ्चालन थाल्दैछौं ।’ भट्टराईले बताए ।

शैक्षिक अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठले इन्जिनियर बन्न आएका विद्यार्थीहरुले अबको ४ वर्षसम्म पढाईलाई मात्रै फोकस गरेर अध्ययन गरे सफल हुने बताए । कलेजमा सिभिल इन्जिनियरिङ, आर्किटेक्ट, कम्प्युटर इन्जिनियरिङ विषयमा भर्ना भएका विद्यार्थीहरुलाई संवोधन गर्दै डा. श्रेष्ठले कलेजमा पढ्ने वातावरण भएकाले विद्यार्थीले त्यसलाई सदुपयोग गर्नुपर्ने बताए । ‘यो कलेजमा विद्यार्थीलाई पढ्ने वातावरण र पूर्वाधार छ, त्यसलाई कसरी सदुपयोग गर्ने तपाईहरुको हातमा छ ।’ उनले नेकमा अध्ययन गरेका धेरै व्यक्तिहरु मुलुकको माथिल्लो ओहदामा पुगेको उदाहरण दिँदै मेहनत गर्ने विद्यार्थीहरुलाई अवसरै अवसर रहेको जिकीर गरे । ‘यो कलेजमा पढ्ने, जान्ने वातावरण छ, त्यसलाई कसरी सदुपयोग गर्ने तपाईंहरुको हातमा छ । ४ वर्ष अन्य ध्यान नदिइकन पढ्नु होला ।’ प्रिन्सिपल श्रेष्ठले भने ।

उनले कलेजको भौतिक पूर्वाधार, शिक्षकहरुको योग्यता, प्रयोगशाला लगायत हेरेर नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी मान्यता दिएको बताउँदै मेहनत गर्ने विद्यार्थीहरुले धेरै प्रगति गर्नसक्ने जनाए । ‘इन्जिनियरिङ कलेजहरुको मुल्यांकन गर्ने नेपाल इन्जिनियरिङ काउन्सिलले हरेक कलेजहरुमा गएर त्यहाँको पूर्वाधार, पढाउने शिक्षकहरुको योग्यता, पढाउने तरिका अनुगमन गरेर मार्किङ गर्नेगर्छ । विद्यार्थीको शुल्कबाट चल्ने कलेजहरु मध्ये हाम्रो कलेजले मात्र स्थायी अनुमति पाएको छ, अन्य कलेजले पाउन सकेका छैनन् ।’

कलेजले विद्यार्थीले चाहेको समयमा शिक्षकहरुसँग नजानेका कुरा सोध्न र अन्तरक्रिया गर्न सकुन् भनेर पूर्णकालिन शिक्षकहरुको व्यवस्था गरेको छ । कतिपय कलेजहरुमा हेल्मेट टिचर अर्थात पार्टटाइममा शिक्षकहरु राख्ने गरेका छन् । यसले विद्यार्थीको पठनपाठन र सिकाई प्रभावकारी नहुने भएकाले नेकले सबै विषयमा पूर्णकालिन शिक्षकहरु राखेको हो । ‘हामी कहाँ ९९ प्रतिशत शिक्षकहरु पूर्णकालिन छन्, विहान ८ बजेदेखि ४ बजेसम्म शिक्षकहरु कलेजमै हुने भएकाले जुनसुकै बेला नबुझेको विषय सोध्न र छलफल गर्न सक्नुहुन्छ ।’ प्रिन्सिपल श्रेष्ठले भने ।

कलेजले विश्वका धेरै कलेज र विश्वविद्यालयहरुसँग अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्दै शैक्षिक सहकार्य गरेकाले हरेक वर्ष धेरै विद्यार्थीहरुले विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा पूर्ण छात्रबृत्तिमा अध्ययनको अवसर पनि पाउने जानकारी दिइयो ।

अभिमुखीकरणमा विभागीय प्रमुखहरु, कलेजका एकेडेमिक कोअर्डिनेटर एशोसिएट प्रोफेसर बाबुराम भट्टराईले कलेजको शैक्षिक जानकारी दिँदै विद्यार्थीहरुले पालना गर्नुपर्ने नियम, प्रशासनिक प्रक्रियाहरुका बारेमा जानकारी दिएका थिए ।

सन् १९९४ मा स्थापना भएको यो कलेज पोखरा विश्वविद्यालयकै अग्रणी कलेजका रुपमा दर्ज भएको छ । शहरको कोलाहल र भिडभाड भन्दा टाढा शान्त तथा हरियाली वातावरणमा अवस्थित यो कलेज पछिल्लो समय चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित छ । कलेजले गुणस्तरीय शिक्षा दिन्छ नै यसले प्रत्येक वर्ष प्रदान गर्ने छात्रबृत्तिका कारण पनि विद्यार्थीको आकर्षण छ । कलेजले विश्वविद्यालयले दिने छात्रबृत्तिसँगै सात प्रदेशका लागि ७ वटा छात्रबृत्ति, स्थानीय तह अन्तरगत चाँगुनारायण नगरपालिकालाई समेत छात्रबृत्तिको कोटा दिएको छ । भने, प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेष्टर टप गर्ने विद्यार्थीहरुलाई पनि छात्रबृत्ति दिने गरेको छ ।
















0 प्रतिकृया