चुनाब अगाडी नै भगबतीलाई मन्त्री बनाउने घोषणा गरेका ओलीले बाचा पुरा गर्लान् ?
एक्सन खबर
काठमाडौं, ११ पुस । कार्तिक ३० गते सुनसरीको दुहवीमा आयोजित जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए । ‘भगबती चौधरीलाई जिताएर पठाउनुस, मंसिर ४ गतेपछि एमालेको सरकारमा मन्त्री बनाएर पठाउँछु ।’ नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ ले आयोजना गरेको चुनाबी सभामा ओलीले गरेको प्रतिबद्धता अनुसार अब चौधरीले मन्त्री पाउनु पर्नेछ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेले २५ मन्त्रालय मध्ये करिब १० वटा मन्त्रालय पाउने छाँटकाँट छ । १० मन्त्रालयमा एउटा मन्त्रालयको जिम्मेवारी महिलालाई दिए सकारात्मक सन्देश पनि जाने छ । यद्यपि, एमालेले ककसलाई सरकारमा पठाउने र कुन कुन मन्त्रालय पाउने टुंगो लागि सकेको छैन ।
सुनसरी क्षेत्र नं. ३ की नेतृ चौधरी २० वर्ष यता नेकपा एमालेको राजनीतिमा सक्रिय छिन् । लघुवित्त कार्यक्रममार्फत देशभरका तीन लाख बढी महिलाहरुमा वित्तीय पहुँच पुर्याउँदै उनीहरुको जीवनस्तर उकास्न योगदान पुर्याउँदै आएकी चौधरी मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतान्तरले पराजित गरेकी हुन् ।
थारु समुदाय, जनजाति तथा महिलाका तर्फबाट भगबती मन्त्रीकी एक्लो दावेदार हुन् । स्वयं एमाले वृत्तमा चाैधरीलाई यो पटक मन्त्री बनाउनु पर्ने मत बढी छ । भने, चाैधरीलाई मन्त्री बनाए उनले विगत २ पटक सड्यन्त्रपूर्वक भाेग्नु परेकाे पराजयबाट पनि न्याय मिल्ने र महिला, समानताका कुरा पनि संवाेधन हुने देखिन्छ ।
सुनसरीलाई विकासको राजधानी बनाउने संकल्पसहित दुई दुई पटक उही गच्छदारसँग चुनाबी प्रतिष्पर्धा गरेकी भगबती चौधरी त्यसबेलाको धाँधली र सड्यन्त्रबाट होत्साहित नभइकन राजनीतिमा सक्रिय भइरहिन् । २०६४ सालको संविधान सभा सदस्य समेत भएर करिब ५ महिना वन तथा भू–संरक्षण राज्यमन्त्री भएको अनुभव नेतृ चौधरीसँग छ । यसका अलावा आर्थिक सशक्तिकरण, महिला सशक्तिकरण, सामाजिक क्षेत्रमा उनको विशेष दख्खल छ ।
अर्थ तथा समाजशाष्त्रमा मास्टर्स सम्मको अध्ययन पुरा गरेकी चौधरीले मुलुकको विकास, सूशासन र वित्तीय सूचकहरुलाई सुधार्न ठोस कार्य योजना बनाउन सक्ने देखिन्छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु अगाडीसम्म फरवार्ड माइक्रोफाइनान्सका करिब एक हजार बढी कर्मचारीहरुको कूशल नेतृत्व प्रदान गर्दै संस्थालाई नेपालकै उत्कृष्ठ वित्तीय संस्था बनाउन सफल भएकी नेतृ हुन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति, समाज र अर्थतन्त्रका विषयहरुसँग नजिक चौधरीले सुनसरी क्षेत्र नं. ३ मा नेकपा एमालेको राजनीतिलाई स्थापित समेत गरेकी हुन् । कांग्रेसको गढ मानिने सुनसरी ३ मा स्थानीय तह निर्वाचनमा २ गाउँपालिका, एउटा उपमहानगरमा उपमेयर जिताउन सफल चौधरीकै कुशल नेतृत्वमा प्रदेश सभामा समेत एमालेले ऐतिहासिक जित हासिल गरेको छ ।
त्यसो त, चौधरी प्रतिनिधि सभा निर्वाचनमा प्रदेश १ बाट नेकपा एमालेको एकमात्र निर्वाचित महिला उम्मेदवार हुन् । देशभरबाट एमालेका प्रभावशाली महिलाहरु पराजित हुँदा चौधरीले कांग्रेसका प्रभावशाली नेता विजय गच्छदारलाई ५ हजार बढी मतान्तरले पराजित गर्न सफल भएकाले पनि उनले मन्त्री पद माग्नु स्वभाविक भएको एमाले सुनसरी जिल्लाका एक सदस्यले बताए । ‘एमालेबाट निर्वाचित भएका महिलाहरु मध्ये उहाँ मन्त्रीको एक्लो दावेदार हो । विगतमा मन्त्री भएकाहरुलाई दोहोर्याउनु भन्दा नयाँलाई मौका दिँदा जनतामा सकारात्मक सन्देश पनि जान्छ ।’ नाम उल्लेख नगर्ने शर्तमा एक जिल्ला नेताले भने ।
नेतृ चौधरीले देश र जनताका पक्षमा काम गर्नका लागि एक पटक मौका दिनुपर्ने बताइरहेकी छिन् । ‘मन्त्री भएर विलासी जिवन विताउने, आफ्ना र आफन्तका लागि काम गर्ने भन्दा पनि समाजमा पछि परेका, विकासका मुख समेत देख्न नपाएका, गरिबीको रेखामुनी रहेका जनताको जीवनस्तर उकास्ने गरी काम गर्न मन छ ।’ व्यक्तिगत रुपमा जे जति गरेपनि राज्यमा रहेर गर्नु जत्तिको नरहने भएकाले एक पटक अवसर पाउनुपर्ने उनको मात्र हैन तमाम नेता कार्यकर्ताको भनाई छ ।
0 प्रतिकृया