काभ्रेको पाटीचौरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
एक्सन खबर
काठमाडौं, १२ पुस । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत काभ्रेको पाटीचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आज मंगलबार धुलिखेल नगरपालिका वडा नं. १२ सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर शंखु पाटीचौर स्वास्थ्य चौकीमा भएको थियो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा केएमसीका दक्ष तथा अनुभवी चिकित्सक, नर्सहरुले ७५३ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार स्वास्थ्य शिविरमा आएकाहरु मध्ये १२२ जनाको इसिजी, १८१ जनाको ल्याब परीक्षण र १४४ जनाको भिडियो एक्सरे गरिएको थियो । यसका अलवा १७ जनाको दाँत खोलिँदा २२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।
केएमसीले स्वास्थ्य शिविरमा जनरल मेडिसिन, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी, बाल रोग तथा स्त्री रोग विशेषज्ञ चिकित्सकहरुबाट बिरामीको चेक जाँच गर्ने गरेको छ । केएमसीले शिविरबाट थप उपचारका लागि केएमसी आउने बिरामीलाई उपचार, बेड चार्जहरुमा छुट समेत दिने गरेको छ ।
दुई वर्ष यता केएमसीले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । केएमसीका निवर्तमान कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले स्वास्थ्य सेवामा जनताको पहुँच स्थापित गर्न निःशुल्क स्वास्थ्य शिविर सुरु गरेका थिए । हाल प्रतिनिधि सभामा निर्वाचित भएर डा. शर्मा गएतापनि केएमसीले उनले सुरु गरेको अभियानलाई निरन्तरता दिइरहेको छ ।
0 प्रतिकृया