नेपाल मेडिकल कलेजका सरसफाईकर्मीहरुलाई संक्रमण रोकथाम, नियन्त्रण सम्बन्धी तालिम
एक्सन खबर
काठमाडौं, १४ पुस । नेपाल मेडिकल कलेजमा कार्यरत सरसफाईकर्मीहरुलाई अस्पतालमा हुने संक्रमण रोकथाम, नियन्त्रणका विषयमा तीन दिने तालिम दिएको छ । अत्तरखेल जोरपाटीस्थित कलेजले त्यहाँ कार्यरत सरसफाईकर्मीहरुलाई तालिम दिएको हो ।
कलेजकी मेट्रोन उर्मिला श्रेष्ठका अनुसार अस्पतालमा उपचारार्थ आएका बिरामीको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै स्वच्छ र किटाणूरहित वातावरणमा उपचार गर्न गराउन सरसफाईको ज्यादै महत्वपूर्ण भूमिका रहने भएकाले सरसफाईकर्मीहरुलाई तालिम दिईएको हो । ‘घरआँगनमा भन्दा अस्पताल बढी जोखिम क्षेत्र हो । यहाँ बिरामीहरुलाई बढी संक्रमणको जोखिम हुने भएकाले बढी सरसफाई गर्नुपर्ने हुन्छ । त्यसका लागि तालिम प्राप्त सरसफाईकर्मी हुनु पर्दछ ।’ मेट्रोन श्रेष्ठले बताइन् ।
कलेजमा इन्टर्नल र आउट सोर्सिङ गरी करिब एक सयको हाराहारीमा सरसफाईकर्मी रहेकोले उनीहरुलाई समयसमयमा अस्पताल कसरी स्वच्छ राख्ने, सरसफाई गर्दा के के कुरामा ध्यान दिने, अस्पतालबाट निस्कने फोहरहरुलाई कसरी सुरक्षित व्यवस्थापन गर्ने लगायतका विषयमा तालिम दिइएको थियो ।
तालिममा सहभागी सरसफाईकर्मीहरुलाई अस्पतालबाट फैलन सक्ने संक्रमणबाट बिरामी, बिरामीका कुरुवा तथा स्वास्थ्यकर्मी र आफैंलाई समेत कसरी सुरक्षित गर्ने सन्दर्भमा तालिम दिइएको छ । भने, निर्मलीकरण गर्न मिल्ने, नमिल्ने र आफ्नो व्यक्तिगत सरसफाईमा समेत कसरी ध्यान दिने भन्ने सिकाईएको थियो ।
अस्पतालबाट खासगरी, सुई, रगत लागेका कटन, शरीरका अङ्ग, उपचारका क्रममा निर्मलीकरण गर्न नमिल्ने प्रयोग भएका चिकित्सकीय औजार, स्लाइनका बोटल लगायतलाई सुरक्षित तवरले व्यवस्थापन गर्न नसक्दा संक्रमण फैलन सक्ने हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रयोग भएका सुई, बिरामीको उपचारका क्रममा निस्कने पीप, रगतजस्ता फोहर, शरीरका अङ्ग, चिकित्सकीय उपकरण, रासायनिक पदार्थ, नष्ट नहुने औषधिजन्य वस्तुका भाग र रेडियो विकिरणको समुचित व्यवस्थापनमा जोड दिँदै आएकोले कलेजले संगठनको मापदण्ड अनुरुप सरसफलाईकर्मीहरुलाई तालिम दिएको कलेजका हस्पिटल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
तरल तथा ठोस फोहर छुट्याएर अस्पतालजन्य फोहर व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकामा उल्लेख भएअनुसार नेपाल मेडिकल कलेजले आफ्ना सरसफाईकर्मीहरुलाई तालिम प्रदान गर्ने गरेको छ ।
0 प्रतिकृया