गर्भवतीलाई आवश्यक पौष्टिक तत्व बारे नेपाल मेडिकल कलेजमा सचेतना
एक्सन खबर
काठमाडौं, १८ पुस । गर्भवती महिलालाई कस्तो प्रकारको पोषण आवश्यक पर्छ भन्ने विषयमा नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ तेश्रो तहका विद्यार्थीहरुले सचेतनामुलक प्रदर्शनी गरेका छन् ।
कलेजको प्राङ्गणमा आयोजित प्रदर्शनीमा विएस्सी नर्सिङ आठौं व्याचका विद्यार्थीहरुले गर्भवती महिला र तथा पेटमा हुर्कदै गएको शिशुको विकासका लागि कस्ता प्रकारका पोषकहरु आवश्यक हुन्छन्, ती पोषकहरु कसरी प्राप्त गर्न सकिन्छ तथा गर्भवती महिलालाई कस्तो आहारको जरुरत पर्दछ भन्ने जानकारी गराए ।
कलेजको पाठ्यक्रम अनुसार आयोजित प्रदर्शनीमा अस्पतालमा आएका बिरामी तथा आगन्तुकहरुले अवलोकन गरे । अवलोकन गरेकाहरुले गर्भवती महिलालाई मात्र नभएर पेटमा बढ्दै गरेको शिशुको विकासका लागि पनि पौष्टिक आहार चाहिने रहेछ भन्ने जानकारी हासिल गरे । ‘गर्भवती महिलालाई अरु बेला भन्दा बढी राम्रो खाना दिनुपर्छ भन्ने थियो तर, कुन खाना दिँदा पेटमा रहेको शिशु र गर्भवतीलाई बढी फाइदा गर्छ भन्ने थाहा थिएन । आज थाहा पाएँ ।’ गोकर्णेश्वर माकलबारीकी अनिता ढकालले भनिन् ।
प्रदर्शनीमा हामीले दैनिक रुपमा खाने खानेकुरामा के कस्ता पौष्टिक तत्वहरु हुन्छन् ? गर्भवती महिलालाई मात्र नभएर हाम्रो शरीरलाई स्वस्थ राख्न कस्तो खानपान गर्नुपर्छ भन्ने जानकारी दिइएको कलेजकी नर्सिङ फ््याकल्टी संयोजक प्रतिमा पाठकले बताइन् ।
प्रदर्शनीमा भिटामिन, आइरन, क्याल्सिएम, प्रोटिन, कार्वोहाइडेटको महत्व तथा उल्लेखीत पौष्टीक तत्व प्राप्त नहुँदा गर्भवती महिला तथा उनको पेटमा हुँर्कदै गरेको शिशुमा देखा पर्ने समस्याहरुका बारेमा जानकारी दिइएको छ । साथै, विहान, दिउसो र बेलुकीको खानामा पौष्टिक तत्वहरु कसरी मिलाएर खान सकिन्छ भन्ने पनि जानकारी दिइएको छ ।
नेपाल मेडिकल कलेजका हस्पिटल इन्चार्ज दिलिप साहले अस्पतालमा उपचारार्थ आउने बिरामी तथा तिनका आफन्तहरुलाई पौष्टिक तत्वहरुका बारेमा जानकारी दिन कलेजका नर्सिङ विद्यार्थीहरुले प्रदर्शनी गरेको बताए । कलेजमा अध्ययनरत विद्यार्थीहरुले समयसमयमा यस्ता सचेतनामुलक प्रदर्शनी गर्ने उनको भनाई छ । ‘विद्यार्थीको पाठ्यक्रम अनुसार गरिएका यस्ता कार्यक्रमबाट अस्पतालमा आउने भिजिटरहरुले फाइदा लिनुहुन्छ ।’ हस्पिटल इन्चार्ज साहले भने ।
0 प्रतिकृया